१० भदौ २०८३, बुधबार

टुट्यो ‘कनेक्टिभिटी’: त्रिशूली वारी–पारीको जमीनी सम्पर्क विच्छेद, चीनसँगको मुख्य व्यापारिक नाका ठप्प!



काठमाडाैँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकाेट, धादिङ र गाेरखाका कयाैँ भूभागलाइ राजधानी काठमाडाैँसँग जोड्ने जीवनरेखा मानिएका सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएकाे छ । जस कारण त्यस क्षेत्रको कनेक्टिभिटी पूर्ण रूपमा टुट्न पुगेको छ।

बाढीले सडक, पुलहरू र विद्युत् संरचनामा तहसनहस पारेसँगै त्रिशूली नदी वारी र पारीको जमीनी सम्पर्क नै विच्छेद भएको छ। कयौँ स्थानमा प्रमुख राजमार्गहरू अवरूध्द हुँदा अन्यत्रको कनेक्टिभिटी पनि टुट्न पुगेको छ भने यसले सिङ्गो रसुवा र नुवाकोट जिल्लालाई गम्भीर संकटमा धकेलेको छ।

रसुवा जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिएअनुसार बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ। यससँगै दुई वटा विद्युत्गृहका पहुँचमार्गमा रहेका दुई पुलसहित त्रिशूली–रसुवागढी सडकमार्गमा रहेका दुई वटा पक्की पुलसमेत बाढीले बगाएपछि वारिपारी आवतजावत गर्ने माध्यम बन्द भएको छ।

रसुवागढी नाकास्थित नेपाल–चीन क्षेत्रका बजार र बस्तीमा पनि बाढीले भीषण क्षति पुर्‍याएको छ। विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र घट्टेखोला बजार बढी प्रभावित भएका छन्। प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरूपमा क्षति पुगेका छन्।

त्यहाँस्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र जलविद्युत्गृहमा समेत भारी क्षति पुगेको छ। बाढीको यो ताण्डव केवल रसुवामा मात्र सीमित छैन, धादिङ सदरमुकाम जोड्ने केउरिनी-फोस्रेटारको वैकल्पिक पुल तथा मलेखु फुर्केखोलाको पुल पनि बगाएपछि यस क्षेत्रको सडक सम्पर्क अवरुद्ध भएको छ।

चीनसँगको नाकामा गम्भीर क्षति

त्रिशूलीमा आएको बाढीका कारण नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागकाे प्रारम्भिक तथ्यांक छ। विभागले जनाए अनुसार हालसम्म कम्तीमा ४० किलोमिटर सडकमा प्रत्यक्ष क्षति पुग्नुका साथै विभिन्न स्थानमा सडक पूर्ण रूपमा भत्किएको विवरणा प्राप्त भएका छन् ।

उत्तरी सीमा जोड्ने सडकहरू बगाएपछि चीनसँगको नेपालको सबैभन्दा ठूलो व्यापारिक नाकाको प्रत्यक्ष सम्पर्क टुटेको छ। यस नाकाको पुनःनिर्माण र अवरुद्ध संरचनाहरू ठडाउन निकै ठूलो लागत र लामो समय लाग्ने देखिएको छ। यसले दुई देशबीचको व्यापारिक गतिविधिमा मात्र नभई स्थानीयहरूको दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत गम्भीर असर पार्ने निश्चित देखिएको छ।

विद्युत् आपूर्ति बन्द, सञ्चार सम्बन्ध पनि गुम्ने खतरा

भौतिक संरचनाको क्षतिसँगै ऊर्जा क्षेत्रमा पनि ठूलो प्रहार भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए अनुसार बाढीले गर्दा १२ वटा जलविद्युत्गृहमा प्रत्यक्ष तथा अप्रत्यक्ष क्षति पुगेको छ। ६ वटा जलविद्युत् गृह र १ सोलार परियाेजनामा पनि प्रत्यक्ष क्षति पुगेको छ ।

त्यसै गरी बाँकी आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट पूर्ण रूपमा विच्छेद भएको छ। कुल ११ जलविद्युत्गृह र १ सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट गुम्न पुगेको छ।

प्रत्यक्ष क्षति पुग्ने आयोजनाहरूमा रसुवागढी, सलासुङ्गी (सान्जेन), अपर साञ्जेन, सान्जेन, चिलिमे, लाङटाङ, अपर त्रिशूली थ्री ए, अपर मैलुङ, मैलुङ, त्रिशूली, देवीघाट र सोलार प्रणाली रहेका छन्।

बाढीले राष्ट्रिय प्रसारण लाइन र हब स्टेशनहरूमा समेत क्षति पुर्‍याएको कारण विद्युत् आपूर्ति पूर्ण रूपमा रोकिएको छ। यो समस्या केवल बाढी प्रभावित इलाकामा मात्रै नभई सिङ्गो नुवाकोट र रसुवा जिल्लामा देखिएको छ। विद्युत् आपूर्ति बन्द भएपछि अब मानिसहरू सञ्चार सम्बन्धबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएको छ, जसले गर्दा पूरै क्षेत्र अन्धकार र सूचनाविहीन बन्न पुग्ने जाेिखम बढेकाे छ ।