१३ भदौ २०८३, शनिबार

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती



रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ ।

काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार, सम्पत्ति र उत्पादन क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि बीमा क्षेत्रमा अहिलेसम्मकै ठूलो दाबी पर्ने आकलन गरिएको हो ।

विगतका विपत्तिको तुलनामा यसपटक बीमा गरिएका संरचना र सम्पत्तिमा बढी क्षति पुगेकाले बीमा कम्पनीहरूमाथि वित्तीय दबाब बढ्ने देखिएको छ ।

रसुवाको बाढीले सयौँको संख्यामा गाडी, आयातित सामग्री, व्यक्तिगत घर, बैंकका शाखा कार्यालयहरू र कन्टेनरहरू बगाएर नष्ट गरेको छ। यस बाढीबाट सञ्चालनमा रहेका १२ र निर्माणाधीन १५ वटा गरी कुल नौ सय मेगावाट क्षमताका जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ ।

भन्सार यार्डमा रहेका तथा बाटोमा गुडिरहेका सयौँ सवारीसाधन पनि बाढीको चपेटामा परेका छन् । विगतमा गएको भूकम्प वा जेनजी आन्दोलनका समयमा अधिकांश क्षति बीमा नगरिएका सरकारी वा व्यक्तिगत सम्पत्तिमा भएकाले बीमा कम्पनीहरूको दायित्व अनुमान गरिएभन्दा कम थियो ।

तर, रसुवा र नुवाकोटमा क्षतिग्रस्त अधिकांश संरचनाको बीमा भएकाले यसपटक दाबी भुक्तानीको चाप धेरै नै रहने सम्बन्धित अधिकारीहरूको ठहर छ ।

व्यवस्थापनको चुनौती

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन अझै केही दिन लाग्ने बताइएको छ । बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्‍याएको वास्तविक क्षति र बैंक शाखाहरूमा रहेको नगद तथा सुनजस्ता बहुमूल्य वस्तुको यकिन विवरण आउन बाँकी नै छ । बाढीग्रस्त क्षेत्रमा पुगेर क्षतिको सहि मूल्याङ्कन गर्नु आफैँमा ठूलो चुनौती बनेको छ ।

जोखिम बहन गर्ने क्षमता कम्पनीपिच्छे फरक हुने हुनाले यसको व्यवस्थापनका लागि बीमा कम्पनीहरूले विशेष गृहकार्य गर्नुपर्ने देखिएको छ ।

जलविद्युत् आयोजनाहरूको हकमा नेपाली बीमा कम्पनीहरूले कम मात्र जोखिम थुपार्ने भएकाले यसको ठूलै हिस्सा पुनर्बीमा कम्पनीहरूतर्फ जाने देखिन्छ । यद्यपि, बीमा क्षेत्रमा दक्ष जनशक्ति पर्याप्त नहुँदा क्षतिको विवरण संकलन र दाबी भुक्तानीको प्रक्रियामा केही ढिलाइ हुन सक्ने आशंका गरिएको छ ।