डिभाइन हेल्थकेयरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौँ। डिभाइन हेल्थकेयर लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा डिभाइन हेल्थकेयरको तर्फबाट अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरु मनोज के.सि.र विनय तोदी समेत सहभागिता रहेको थियो ।
वि.स. २०७४ कार्तिक १४ मा स्थापित डिभाइन हेल्थकेयर लिमिटेड भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन तथा बजारीकरण सम्बन्धी दर्ता तथा स्वीकृति प्राप्त गरी गुणस्तरीय मानव औषधिहरूको बिक्री–वितरण गर्दै आएको छ।
कम्पनीले हाल ६७ प्रकारका औषधिहरू उत्पादन तथा नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीद्वारा उत्पादित औषधिहरूमध्ये एसिडेक्स, नेक्सोफास्ट ५, प्रेग्ज रेंज लगायतका औषधिहरू बजारमा उल्लेखीय मात्रामा बिक्री–वितरण हुँदै आइरहेका छन् । कम्पनीले यहि माघ महिनादेखि सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज)का बिरामीहरूका लागि आवश्यक डीपीआई (ड्राइ पाउडर इन्हेलर) औषधिको समेत उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
करिब १ बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको तथा हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिइ मुख्य रूपमा स्वपूँजीबाट सञ्चालन भइरहेको कम्पनीले जनाएको छ। कम्पनीको देशभर १२५ भन्दा बढी वितरकहरूको सञ्जाल रहेको छ ।
साथै सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीलाई कम्पनीले नयाँ प्रविधिको विस्तार, नयाँ औषधिहरूको विकास, विद्यमान औषधिहरूको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकासमा प्राथमिकताका साथ उपयोग गर्ने लक्ष्य राखेको छ ।










