१५ भदौ २०८३, सोमबार

भोटेकोशी बाढीपीडितलाई सांग्रिला डेभलपमेन्ट बैंक परिवारद्वारा ७० लाख रुपैयाँ सहयोग



काठमाडौँ। भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

कुल सहयोगमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट ५० लाख रुपैँया र कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको बैंकले जनाएको छ। सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै बैंकले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। विपद् प्रभावितको तत्काल राहतसँगै दीर्घकालीन पुन:स्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले स्पष्ट पारेको छ।

बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा आफ्नो सेवा सञ्जाल थप विस्तार गर्ने प्रतिबद्धतासमेत बैंकले व्यक्त गरेको छ।