१७ भदौ २०८३, बुधबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ६२ लाख सहयोग



काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ उपलब्ध गराएको छ भने कम्पनीमा कार्यरत कर्मचारीहरूले एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।

उक्त सहयोग बाढी प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा उपयोग हुने बताइएको छ। भदौ १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले प्रभावित परिवारप्रति दु:ख व्यक्त पनि गरेको छ।

कम्पनीले बाढी प्रभावित परिवारको सुरक्षित उद्धार र घरबारविहीनको पुन:स्थापना यथाशीघ्र गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ। प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका बेला स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको पनि कम्पनीले जनाएको छ।