‘एक्विजिशन’मा हाेमिएकाे मुक्तिनाथले गरिमालाई कुन रणनीतिबाट उछिन्याे ?
काठमाडाैँ । पाेखरा भ्यालीबाट उदाएका दुई विकास बैंकहरू अहिले बाँकी बचेका विकास बैंककाे व्यावसायिक प्रगतिमा निकै अगाडी देखिएका छन् । यी दुई संस्था हुन्- मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक ।
यसमध्ये एक, अर्थात् मुक्तिनाथले अब ठूलाे एक्वीजिशन (प्रप्ती) गर्न लागेकाे छ । ठेट अर्थमा उसले अरू दुईटा संस्था किन्न लागेकाे छ । भर्खरैमात्र सिन्धु विकास बैंक र जानकी फाइनान्स प्राप्ती (खरीद) गर्ने सम्झाैता भएकाे छ । यी तीन संस्थाले १९ भदाैमा प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झाैता गरेका छन् ।
मुक्तिनाथकाे याे रफ्तारकाे विस्तारलाई नियालिरहेकाे गरिमा भने आफ्नाे बेग्लै रणनीतिक बाटाेमा अग्रसर छ । कालीगण्डकीकाे सेराेफेराेबाट उठेका यी दुई बैंककाे संक्षिप्त तुलना गर्ने हाे भने उनीहरूका केही साना साना रणानीतिक भिन्नताहरूले गन्तव्यलाई कसरी प्रभावित पार्छन् भन्ने स्पष्ट हुन्छ ।
मुक्तिनाथ विकास बैंकले ठूलाे आकारमा लघुवित्त व्यवसाय गरेकाे थियाे । अहिले पनि करीब १७ अर्ब रूपैयाँ लघुवित्त कर्जाकाे पाेर्टफाेलियाे छ । त्यसैले गर्दा मुक्तिनाथकाे स्प्रेड (लिने र दिने ब्याजदरकाे अन्तर) पनि बढी छ । गत असार मसान्तकाे प्रतिवेदन अनुसार मुक्तिनाथकाे स्प्रेड दर ४.५५ प्रतिशत छ भने गरिमाकाे ४.०३ प्रतिशत छ ।
याे भनेकाे ५२ आधार विन्दुले बढी हाे । गरिमासँग अहिले ८४ अर्बकाे कर्जा छ । त्यस हिसाबले मुक्तिनाथकाे बराबर स्प्रेड कायम गर्न सकेकाे भए उसलाई ४३ कराेड ६८ लाख रूपैयाँ बढी फाइदा हुने थियाे । अर्थात् लघुवित्त कर्जाले मुक्तिनाथलाई दीर्घकालिन लाभ दिएकाे छ।
तर गरिमाले पहिले नै लघुवित्त कर्जाबाट हात झिक्याे । प्राेफेशनल बैंकिङमा लाग्याे ।
पछिल्लाे १५ वर्षकाे औसत प्रतिफल दर हेर्ने हाे भने मुक्तिनाग निकै अगाडी देखिन्छ । यस अवधिमा मुक्तिनाथले २१.३१ प्रतिशतकाे वार्षिक औसत प्रतिफल बाँडेकाे छ भने गरिमाले १६.३४ प्रतिशत औसत प्रतिफल दिएकाे छ । प्रतिफलकाे याे हिसाब सुरूआति वर्षमा यस्ताे देखिएकाे थिएन ।
२०६७/६८ मा गरिमा विकास बैंकले १८ प्रतिशत नगद लाभांश बाँड्याे भने २०६८/६९ मा २५ प्रतिशत लाभांश बाँड्याे । तर मुक्तिनाथले ती दुई वर्ष लाभांश नै दिएन । शून्य प्रतिफलमा बस्याे । सुरूकाे पूँजी सिर्जना गर्ने बेलामा गरिमाले लाभांश बाँडिरहँदा मुक्तिनाथले सम्पत्ती बढाएर बस्याे । फलस्वरूप गरिमा पाेखरामा अल्झिरहँदा मुक्तिनाले गण्डकी अञ्चलभरी नै शाखा फैलाउन थालिसकेकाे थियाे ।
यसरी एउटा बैंक सुरूदेखि नै उच्च प्रतिफल बाँडेर उत्सव मनाउन थाल्याे भने अर्काे बैंक प्रारम्भिक दिनहरूमा “बगली भर्न” नलागी बैंककाे व्यावसायिक विस्तारमा हाेमियाे । जसले कालान्तरमा ठीक विपरित परिणाम हासिल भएकाे देखिन्छ ।
त्यसाे त, यी दुई बैंक एक वर्षकाे अन्तरालमा जन्मिएका थिए । मुक्तिनाथ र गरिमा दाजु-बहिनी जस्तै हुन् । मुक्तिनाथ खुलेकाे एक वर्षमा गरिमा विकास बैंक अस्तित्वमा आएकाे थियाे । तर उनीहरूकाे व्यावसायिक रणनीतिले उनीहरूलाई भिन्न स्थितिमा उभ्याइदिएकाे छ ।
अहिले एक्विजिशनमा जानु अघि नै मुक्तिनाथसँग १७९ वटा शाखा छन् । गरिमासँग १२६ शाखा छन् । विकास बैंकका प्रतिशाखा औसत ६ जनामात्रै कर्मचारी भए पनि यी दुई बैंकबीचकाे कर्मचारी संख्याकाे अन्तर ३०० जना भन्दा ज्यादा हुन्छ ।
व्यावसायिक आकार बढाउन पनि मुक्तिनाथले लगाएकाे काइदा गजबकाे थियाे । उसले लघुवित्त व्यवसायका लागि साना साना शाखा विस्तार गर्याे । लघुवित्त एकाइहरूलाई शाखामा रूपान्तरण गरेर ग्रामीण क्षेत्रकाे शाखा संख्या उल्लेख्य बढायाे । अनि त्यही हिसाबमा काठमाडाैँ उपत्यकामा पनि शाखा विस्तार गर्याे ।
यसरी काठमाडाैँ उपत्यकामा शाखा बढी हुने वित्तिकै उनीहरूकाे काराेबारकाे आकार पनि उल्लेख्य बढ्न गयाे । यस्ता रणनीतिक कदमहरूकाे लाभ लिएर मुक्तिनाथ अब अझ सशक्त बन्ने काेसिसमा छ । उसले अरू दुई वित्तीय संस्थालाई गाभिसकेपछि त्यसले कस्ताे परिणाम दिन्छ भन्ने हेर्न बाँकी छ । जुन कुरा अझै केही वर्ष समयकै गर्भमा रहने छ ।
तथापि, अहिलेसम्म मुक्तिनाथकाे याे रफ्तार भने राेचक र उदाहरणीय देखिन्छ ।
भलै, प्रत्येक व्यक्तिकाे जस्तै प्रत्येक संस्थाकाे पनि जीवन-यात्रा आ-आफ्नै हुन्छ । त्यसैले काेही एकलाई अर्काेसँग ठ्याक्कै तुलना गर्न सकिँदैन । तर मान्छेहरू हर बखत बदलिनसक्ने परिणामलाई नै ज्यादा महत्व दिन्छन् र तुलना गर्न कहिल्यै थाक्दैनन् ।












