२५ भदौ २०८३, बिहिबार

डिजिटल बैंकिङको बढ्दो अभ्याससँगै खर्च कटौती गर्न धमाधम शाखा मर्ज गर्दै बैंकहरू



काठमाडौँ। विगतमा बजार विस्तारका लागि शाखा संख्या थप्ने प्रतिस्पर्धा हुने गरेकोमा अहिले बैंकिङ प्रणालीमा ठ्याक्कै उल्टो चित्र देखिदैँछ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु शाखा मर्जको नीतिमा आक्रामक तरिकाले अघि बढिरहेका छन्।

बैंकिङ प्रणाली डिजिटल बन्दै गइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरू लागत नियन्त्रण तथा सञ्चालन दक्षता वृद्धि गर्न आफ्ना आवश्यक नरहेका शाखा घटाउन थालेका हुन्। विशेषगरी तरलताको चाप बढ्दै गएको तथा कर्जा विस्तारको गति सुस्त रहेको अहिलेको अवस्थामा आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न बैंकहरूले आफ्ना शाखा संरचनामाथि पुनर्विचार गरिरहेको पनि बैंकिङ क्षेत्रका जानकार बताउँछन।

कम प्रदर्शन गरिरहेका शाखाहरू बन्द गर्ने, नजिकै रहेका शाखाहरूलाई एकीकृत गर्ने तथा डिजिटल माध्यमबाट ग्राहकलाई सेवा उपलब्ध गराउने प्रवृत्ति आगामी दिनमा झन बढ्न सक्ने संकेत विगत एक वर्षको तथ्यांकले गरिसकेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै बैंक तथा वित्तीय संस्थाका कुल १ सय ९४ वटा शाखा सञ्चालनबाट हटेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/२०८२ को असार महिनाको अन्त्यसम्म देशभर बैंक तथा वित्तीय संस्थाका ११ हजार ५ सय २६ शाखा अस्तित्वमा रहेका थिए तर २०८३ को असार मसान्तसम्म आइपुग्दा यो संख्या ११ हजार ३ सय ३२ मा झरेको छ।

वाणिज्य बैंकहरूले मात्रै १ सय ५८ शाखा घटाए

शाखा घटाउने क्रम सबैभन्दा बढी वाणिज्य बैंकहरूमा देखिएको छ। २०८२ असारमा वाणिज्य बैंकका ५ हजार ९९ शाखा सञ्चालनमा रहेकामा एक वर्षपछि उक्त संख्या ४ हजार ९ सय ४१ मा सीमित भएको छ। अर्थात् यस अवधिमा वाणिज्य बैंकहरूले मात्रै १ सय ५८ शाखा घटाएका छन्।

कम कारोबार भएका शाखा बन्द गर्ने नीति लिएका बैंकहरुले कर्जा प्रवाहमा अपेक्षित वृद्धि हुन नसक्नु, आम्दानीमा दबाब पर्नु र सञ्चालन खर्च बढ्नुजस्ता कारणले शाखाहरूको व्यावसायिक सम्भाव्यता पुन:मूल्यांकन गर्न थालेका छन्।

पर्याप्त कारोबार नहुने शाखा बन्द गर्ने, नजिकका शाखासँग एकीकरण गर्ने तथा केही स्थानमा सेवा केन्द्रको स्वरूप परिवर्तन गर्ने काम भइरहेको छ।

घरभाडा घटाउने प्रयास पनि तीव्र

बैंकहरूको खर्च घटाउने योजना शाखा बन्द वा एकीकरणमा मात्र सीमित छैन। सञ्चालनमा रहेका शाखाका घरभाडा कम गर्न पनि बैंकहरूले घरधनीसँग नयाँ सम्झौताको पहल गरिरहेका छन्। शाखाको कारोबार, नाफा, स्थान र ग्राहकको आवागमनजस्ता पक्षलाई मूल्यांकन गर्दै केही बैंकले हाल तिर्दै आएको भाडामा १५ देखि ४० प्रतिशतसम्म कटौती गरेर सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको स्रोतले बताएको छ।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार डिजिटल माध्यमबाट बैंकिङ सेवा लिने ग्राहकको संख्या बढेसँगै परम्परागत भौतिक शाखाको आवश्यकता क्रमश: घट्दै गएको छ। यस्तो अवस्थामा कम कारोबार भएका शाखा निरन्तर सञ्चालन गर्दा खर्च बढ्ने भएकाले बैंकहरूले शाखाको उत्पादकत्व र नाफामुखी क्षमतामा बढी ध्यान दिन थालेका हुन् र शाखा घटाएका हुन्।

यो पनि पढ्नुहोस् :