२६ भदौ २०८३, शुक्रबार

किटक्याट र म्यागी बनाउने कम्पनी नेस्लेका भारतीय उत्पादन कमसल, स्वास्थ्य चेतावनी लेबल राख्न सरकारको निर्देशन



काठमाडाैँ । भारत सरकारले प्याकेजिङ गरिएका जंकफुड अर्थात् खाद्य उत्पादनहरूमा स्वास्थ्य चेतावनी लेबल राख्ने प्रस्ताव गरेकाे छ । यस प्रस्तावले अहिले देशैभरि ठूलो बहस छेडिदिएको छ।

कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अन्य देशहरूमा आफ्नै ब्रान्डका बढी पोषिला संस्करणहरू बिक्री गरिरहँदा भारतमा भने किन सस्तो र कम गुणस्तरको प्याकेटका खानाको भर पर्नुपर्‍यो भन्ने विषयमा गम्भीर प्रश्न उठाइएको छ।

विश्व औसतभन्दा निकै कम घरेलु आम्दानी भएका भारतीय उपभोक्ताहरू नेस्लेको म्यागी इन्स्टन्ट चाउचाउ र कोकाकोलाको थम्स-अपजस्ता सस्तो खाद्य उत्पादनका ग्राहक हुन्। त्यसैले विश्वका ठूला खाद्य उत्पादक कम्पनीहरूका लागि यो एउटा विशाल बजार बनेको छ । किनकी यस्ता जङ्कफुड कम्पनीहरूलाई अन्य धेरै देशमा पालना गरिने कडा खाद्य मापदण्डहरू भारतमा खासै लागू भएकाे थिएन।

तर, अब यो अवस्था फेरिने देखिएको छ। भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले गत बिहीबार सरकारले तोकेको सीमाभन्दा बढी अतिरिक्त चिनी, नुन वा स्याचुरेटेड फ्याट भएका खाद्य पदार्थहरूमा कडा रातो चेतावनी लेबल लगाउने काम एकसाथ लागू गर्न सकिने संकेत दिएको छ।

यसअघि प्राधिकरणले चरणबद्ध रूपमा यो नियम लागू गर्ने योजना बनाएको थियो । तर त्यहाँकाे सर्वोच्च अदालतका न्यायाधीशहरूले सो योजनामाथि प्रश्न उठाएएपछि उद्योग जगतका लागि यो एक ठूलो झट्काको रूपमा आएको छ।

मधुमेहको चुनौती र बढ्दो बजार

भारतमा उच्च चिनीयुक्त खाद्य पदार्थ सेवन गर्नु विशेष गरी खतरनाक साबित भएको छ। विश्वभरका मधुमेहका कुल बिरामीमध्ये लगभग एक चौथाई हिस्सा भारतले ओगटेको छ, र स्वास्थ्य विशेषज्ञहरूले यसको आंशिक कारण प्रशोधित खानालाई नै मानेका छन्।

डेनिस औषधि निर्माता कम्पनी नोभो नर्डिस्कले गत जुलाईमा सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा १० करोड १० लाखभन्दा बढी मानिस मधुमेहबाट पीडित छन् भने अन्य १३ करोड ६० लाख मानिसमा प्रि-डायबिटिजको समस्या छ।

अनुसन्धान फर्म आईएमएआरसी समूहका अनुसार भारतको प्याकेजिङ गरिएकाे खाद्य बजार सन् २०२५ मा १ खर्ब २९ अर्ब १८ करोड अमेरिकी डलर रहेकोमा सन् २०२६ मा बढेर १ खर्ब ३७ अर्ब २५ करोड डलर पुगेको छ।

यो बजार सन् २०३४ सम्ममा २ खर्ब ३८ अर्ब ८३ करोड डलर पुग्ने अनुमान गरिएको छ। भारतीय घरपरिवार र सडक किनारका पसलहरूमा हरेक वर्ष स्विट्जरल्याण्डको खाद्य जायन्ट नेस्लेद्वारा उत्पादित म्यागी टु-मिनेट्स मसाला चाउचाउका करिब ६ अर्ब प्लेट उपभोग हुने गरेका छन्।

दोहोरो मापदण्डको विवाद

म्यागीले सन् १९८३ मा नयाँ काम गर्ने आमाहरू र बालबालिकाहरूलाई लक्षित गर्दै भारतमा पहिलो पटक तयारी चाउचाउको ब्रान्ड भित्र्याएको थियो। स्कुल र खेलकुदपछि बालबालिकाले “मम्मी, मलाई भोक लाग्यो” भन्दै म्यागी खाइरहेका छापा विज्ञापनमार्फत यसलाई साँझको छिटो तयार हुने खाजाको रूपमा प्रचार गरिएको थियो।

यसैको सफलताले नेस्लेलाई आज कम्पनीको सबैभन्दा तीव्र गतिमा बढिरहेको यस क्षेत्रमा बलियो पकड बनाउन मद्दत गर्‍यो। तर रोचक कुरा के छ भने, बेलायतजस्ता देशहरूमा महँगो सूर्यमुखी तेल प्रयोग गरेर बनाइने म्यागीका सबै भेरियन्टहरू भारतमा भने पाम तेल प्रयोग गरेर उत्पादन गरिन्छन्।

यसैगरी, अन्तरराष्ट्रिय समाचार संस्था राेयटर्सका अनुसार भारतमा पाइने नेस्लेको किटक्याट चकलेटमा अस्ट्रेलियाली संस्करणको तुलनामा कम कोकोआ प्रयोग गरिएको हुन्छ।

युनिलिभरको भारतीय इकाइका पूर्व मार्केटिङ म्यानेजर शशांक मेहताले राेयटर्ससँग भने, “यसले राष्ट्रिय स्वाभिमानमाथि खेलबाड गरिरहेको छ। भारतलाई किन यति धेरै ठगी गरियो? राम्रो सामग्री किन्न म सक्षम छैन भन्ने निर्णय कम्पनीहरूले मेरो तर्फबाट किन गरिदिन्छन्?”

अर्कोतर्फ, नाम नबताउने सर्तमा एक जना नेस्लेका पूर्व वरिष्ठ कार्यकारीले उच्च गुणस्तरका सामग्रीहरू महँगो हुने भएकाले यस्तो मूल्यप्रति सचेत बजारमा यसले मूल्य वृद्धिलाई बढावा दिन सक्ने बताएकाे भनेर पनि राेयटर्सले छापेकाे छ ।

आफ्नो बचाउमा नेस्लेद्वारा जारी एक विज्ञप्तिमा उपभोक्ताको अपेक्षा, खाद्य संस्कृति अनुसारको स्थानीय स्वादको प्राथमिकता, सामग्रीहरूको उपलब्धता र हावापानीको अवस्थालाई ध्यानमा राखेर आफ्ना रेसिपीहरू तयार पारिने स्पष्ट पारिएको छ।

रेसिपीमा गरिएको भिन्नताले उत्पादनको गुणस्तरमा कुनै असर नपार्ने दाबी गर्दै कम्पनीले विश्वभर १० भन्दा बढी क्षेत्रीय किटक्याट रेसिपीहरू रहेको जनाएको छ। साथै, कम्पनीले सबै भारतीय खाद्य सुरक्षा कानूनहरूको पालना गरेको र प्याकेटमा सामग्रीहरू स्पष्ट रूपमा घोषणा गरिएको पनि बताएको छ।

नेपाललाई किन पर्छ फरक ?

नेस्ले भनेको आजभन्दा १६० वर्ष पहिलो हेनरी नेस्लेले स्वीट्जरल्याण्डमा स्थापना गरेको कम्पनी हो । यसको मुख्यालय अहिले पनि स्विट्जरल्याण्डको भेभेमा रहेको छ। सन् २०१४ देखि कारोबार र अन्य गण्तिीय आधारमा विश्वको सबैभन्दा ठूलो खाद्य कम्पनी यही हो।

नेपालमा पनि नेस्लेका उत्पादनहरु भारतबाटै आयात हुन्छ । नेपालमा ‘नेप ट्रेड प्रालि’ र कुमारी मार्केटिङ प्रालिले नेस्लेका सामग्री आयात गर्ने गरेको विवरण इन्टरनेटमा भेटिन्छ । उसका कतिपय उत्पादनहरु नवजात शिशुको आहारमा पनि उपयोग हुन्छ ।

६ महिनादेखि २ वर्ष भित्रका शिशुलाई खुवाउने केयरल्याक जस्ता उत्पादन पनि नेस्लेकै हुन्, जुन नेप–ट्रेडले नेपाल भित्र्याउँदै आएको छ ।बाफलमा रहेको उक्त कम्पनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादनमा ‘रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको’ पाइएको भनेर गत साल बैशाखमा २ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

नेपालमा सबैभन्दा प्रसिद्ध नेस्लेका उत्पादनहरुमा किटक्याट सहित विभिन्न खाले चकलेटहरु, नेस–क्याफेका विभिन्न खाले कफीहरु, एभ्रि–डे पाउडर दुध, केयरल्याक र ल्याक्टोजिन जस्ता सप्लिमेन्ट, मिल्कीबार, मिल्कमेडदेखि नान प्रोसम्म छन् । विश्वकै सबैभन्दा ठूलो चाउचाउ ब्राण्डमध्ये एक म्यागी पनि नेस्लेकै उत्पादन हो । भारतमा असाध्यै प्रसिद्ध भए पनि नेपाली बजारमा वाइवाइले यसले छिर्न दिएको छैन ।

स्वीजरल्याण्डको बहुराष्ट्रिय कम्पनी भएर पनि अन्य विकसित मुलुकको तुलनामा भारतमा उसले कमसल गुणस्तर र अस्वस्थकर खाद्य सामग्री उत्पादन गरेमा त्यसको सीधा मार नेपाली उपभोक्तालाई पनि पर्छ । त्यसमाथि नेपाली आयातकर्ताहरुले मूल्यदेखि उत्पादन मितिसम्म बदलेर सामान बेच्ने अवस्थाले निरन्तरता पायो भने नेपालीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।