ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना नियुक्त
कामना सेवाका पूर्व डेपुटी जनरल म्यानेजर विकास ढुंगाना १७ वर्षको अनुभवसहित ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।
काठमाडाैँ । क्षेत्रीय तहमा कारोबार विस्तार गर्दै आएको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो व्यवस्थापकीय नेतृत्वलाई थप बलियो बनाउने क्रममा विकास ढुंगानालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा भित्र्याएको छ।
बैंकिङ क्षेत्रमा करिब १७ वर्षभन्दा लामो कार्यअनुभव संगालेका ढुंगानाले यसअघि कामना सेवा विकास बैंक लिमिटेडमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्।
कामना सेवाबाट बाहिरिएलगत्तै उनले ग्रीन डेभलपमेन्ट बैंकमा नयाँ इनिङ सुरु गरेका हुन्। लामो समयको व्यावसायिक अनुभव बोकेका व्यक्तिको प्रवेशले बैंकको आन्तरिक कार्यशैली र सेवा प्रवाहमा नयाँपन आउने अपेक्षा गरिएको छ।
नवनियुक्त डीसीईओ ढुंगानासँग रणनीतिक योजना तर्जुमा तथा कार्यान्वयन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली र डिजिटल प्रविधिको प्रयोगमा विशेष दख्ल छ।
बैंकिङ बजारमा बढ्दो प्रतिस्पर्धा र प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै बैंकले उनको यही क्षमतालाई संस्थाको हितमा प्रयोग गर्ने योजना बनाएको छ।
उनको यो अनुभवले बैंकको आन्तरिक प्रणालीलाई नियमनकारी मापदण्डभित्र रहेर अझै सुदृढ बनाउन तथा संस्थागत विकासलाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले अनुभवी र दक्ष व्यवस्थापकीय जनशक्ति जोडिएसँगै संस्थागत विकासले गति लिने बताएका छन्।
ढुंगानाको आगमनले बैंकको समग्र व्यावसायिक दायरा फराकिलो बन्ने र सेवाग्राहीलाई आधुनिक तथा प्रविधिमैत्री सेवा दिन थप सहज हुने बैंकको ठहर छ। क्षेत्रीय पहुँचलाई बलियो बनाउँदै आएको यस बैंकले आगामी दिनमा आफ्ना सेवालाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने दृढता व्यक्त गरेको छ।












