३० भदौ २०८३, मंगलबार

शेयर बजारमा छायो हरियाली: ४८.५७ अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब नाघ्यो



काठमाडौं। मंगलबार सेयर बजारमा लगानीकर्ताको उत्साह बढेसँगै नेप्से परिसूचकमा उल्लेख्य सुधार आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले उकालो लाग्दै २६३३.६२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

नेप्सेमा वृद्धि भएसँगै बजारको कारोबार गतिविधि पनि बढेको छ। मंगलबार कुल ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अर्थ मन्त्रालयले सोमबार राति पूँजी बजार सुधार, लगानीकर्ताको मनोबल वृद्धि तथा बजारको दीर्घकालीन विकासलाई लक्षित गर्दै २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो। यसको प्रभाव आजको बजारमा देखिएको हुनसक्ने विश्लेषकहरुको भनाइ छ।

कारोबार अवधिमा ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर लगानीकर्ताबीच किनबेच भएका छन्। बजारमा खरिदकर्ता हाबी हुँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ।

मंगलबार नेप्सेका सबै १३ वटा उपसूचक हरियालीमा बन्द भएका छन्। जीवन बीमा, निर्जीवन बीमा तथा वित्त समूहमा रहेका कम्पनीका सेयरले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन्। यसले समग्र बजार वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको देखिएको छ।

आजको कारोबारमा २६५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश घोषणा गरेपछि लगानीकर्ताको ध्यान यसको सेयरतर्फ केन्द्रित भएको देखिन्छ।

रिलायन्स स्पिनिङ मिल्सपछि शिवम् सिमेन्ट र अपी पावरका साथै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, लक्ष्मी सनराइज बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र गरिमा विकास बैंकका सेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो देखिएको छ।

समग्रमा, मंगलबार बजारमा अधिकांश कम्पनीको मूल्य बढ्नु, सबै क्षेत्रगत उपसूचक सकारात्मक रहनु र कारोबार रकम ८ अर्बभन्दा माथि पुग्नुले सेयर बजारमा खरिदकर्ताको सक्रियता बढेको संकेत गरेको छ।