बाढीले भत्काएका झोलुंगे पुलको मर्मत र पुनःनिर्माण तीव्र, असोज २० भित्र १२ पुल सञ्चालनमा ल्याउने तयारी
भोटेकोशी बाढीले त्रिशूली–मुग्लिन करिडोरमा पारेको भौतिक क्षतिलाई उकास्न सरकारले मर्मत र पुनःनिर्माणको अभियानलाई तीव्र बनाएको छ।
काठमाडाैँ । रसुवास्थित भोटेकोशी नदीमा केही समयअघि आएको बाढीले ठूलो असर पुर्याएको त्रिशूली–मुग्लिन करिडोर क्षेत्रमा अवरुद्ध जनजीवन सहज बनाउन सरकारले मर्मतसम्भारको कामलाई तिब्रता दिएको छ। बाढीका कारण प्रभावित बनेका झोलुंगे पुलहरूमध्ये पहिलो चरणमा १२ वटा पुलको मर्मत कार्य अहिले युद्धस्तरमा अघि बढाइएको छ।
सम्बंधित अधिकारीहरूका अनुसार मर्मत भइरहेका पुलहरूमा धादिङतर्फका कालिकास्थान, मालिङ्गा-मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार-क्युरेनीटार र बेल्खु-भुतिया झोलुंगे पुल रहेका छन्।
यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी-गहते, पिमलटार-जागाराम, कोल्पु-कल्लेरी, फोस्रेटार र फिलिङ पुलका साथै गोरखा र धादिङको सिमाना जोडने बादरे झोलुंगे पुल पनि यही सूचीमा समेटिएका छन्।
यी सम्पूर्ण पुलहरूको मर्मत कार्य सम्पन्न गरी आगामी असोज २० गतेभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
पहिलो चरणमा परेका बाहेक थप आठवटा प्रभावित झोलुंगे पुलहरूको मर्मतका लागि पनि प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको छ। मर्मतका लागि नभई नहुने डेक लगायतका अत्यावश्यक निर्माण सामग्री खरिद गर्न विभिन्न निर्माण कम्पनीहरूसँग औपचारिक सम्झौता भइसकेको छ।
सम्झौता बमोजिम पहिलो चरणका सामग्रीहरू अहिले नै कार्यस्थलमा पुर्याइिसकिएको छ भने दोस्रो चरण अन्तर्गतका स्टिल पार्ट्स खरिद प्रक्रिया पनि अघि बढाइएको छ। यसले गर्दा रोकिएका अन्य संरचनाको मर्मत पनि समयमै सकिने विश्वास लिइएको छ।
३३ वटा पुलको पुनःनिर्माण थालियाे
करिडोर क्षेत्रमा सामान्य मर्मतबाट सञ्चालन गर्नै नसकिने गरी पूर्ण रूपमा क्षतिग्रस्त भएका ३३ वटा झोलुंगे पुलहरूको भने नयाँ ढङ्गले पुनःनिर्माण गरिने भएको छ।
यसका लागि सरकारले गएको भदौ १७ गते नै औपचारिक रूपमा बोलपत्र आह्वान गरिसकेको छ। पुल पुनःनिर्माण तथा मर्मत अभियानलाई गति दिन लठ्ठा र बुलडग ग्रिप्स जस्ता अति संवेदनशील र मुख्य हार्डवेयर सामग्रीहरू खरिदका लागि बोलपत्रमार्फत प्रक्रिया अगाडि बढाइएको हो।
यसबाट नदी करिडोरका विभिन्न खण्डमा टुटेका स्थानीय सम्बन्धहरू फेरि जोडिने छ।











