४ आश्विन २०८३, आइतबार

दुई महिनामै ११ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता : ३ हजार बढीले पाउनेछन् रोजगारी



काठमाडौँ। चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिना साउन र भदौमा नेपालले ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउने प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागको भदौ महिनाको मासिक प्रतिवेदनअनुसार उक्त अवधिमा ३२८ वटा उद्योगमार्फत विदेशी लगानीको प्रतिबद्धता आएको हो।

प्रस्तावित उद्योगहरू सञ्चालनमा आएपछि ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांक छ। गत आर्थिक वर्षको तुलनामा यसपटक विदेशी लगानीकर्ताको रुचि स्वचालित मार्गतर्फ बढी देखिएको छ।

कुल ३२८ उद्योगमध्ये ३२२ वटा स्वचालित मार्गबाट स्वीकृत भएका छन्। यी उद्योगमार्फत ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ। त्यसैगरी, बाँकी ६ वटा उद्योग परम्परागत स्वीकृति प्रक्रिया अन्तर्गत स्वीकृत भएका छन्। ती उद्योगका लागि कुल १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ।

लगानीकर्ताको आकर्षणको केन्द्रमा पर्यटन क्षेत्र

विदेशी लगानीको रकम हेर्दा पर्यटन क्षेत्र लगानीकर्ताको मुख्य आकर्षण बनेको छ। दुई महिनामा प्रतिबद्ध भएको कुल विदेशी लगानीमध्ये ३४ प्रतिशत अर्थात् ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ पर्यटन क्षेत्रका ७० वटा उद्योगमा केन्द्रित भएको छ।

सेवा क्षेत्र दोस्रो स्थानमा छ। यस क्षेत्रका २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ अर्थात् कुल प्रतिबद्धताको ३० प्रतिशत विदेशी लगानी आउने भएको छ।

ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि २ अर्ब रुपैयाँ अर्थात् १८ प्रतिशत लगानी प्रतिबद्धता आएको छ। त्यस्तै, उत्पादनमूलक क्षेत्रका १८ वटा उद्योगमा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ अर्थात् ११ प्रतिशत लगानी प्रस्ताव गरिएको छ। कृषिमूलक क्षेत्रको एउटा उद्योगका लागि भने २ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।

उद्योगको संख्या आधारमा भने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र सबैभन्दा अगाडि रहेको छ। कुल स्वीकृत उद्योगमध्ये ६५ प्रतिशत अर्थात् २१२ वटा उद्योग सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेका छन्। यी उद्योगमार्फत ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ अर्थात् कुल प्रतिबद्धताको ७ प्रतिशत लगानी भित्र्याउने प्रस्ताव गरिएको छ।

यस अवधिमा खनिज तथा पूर्वाधार क्षेत्रका लागि भने कुनै पनि विदेशी लगानी प्रतिबद्धता आएको छैन।

भदौमा मात्रै ६ अर्ब ३५ करोडको विदेशी लगानी प्रतिबद्धता

यसैगरी भदौ महिनामा मात्रै १३६ वटा उद्योगमा विदेशी लगानीकर्ताले ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित यी उद्योगबाट ९८३ जनालाई प्रत्यक्ष रोजगारी दिने योजना रहेको छ। भदौमा स्वीकृत भएका १३६ उद्योगमध्ये १३५ वटा स्वचालित मार्गबाट स्वीकृत भएका हुन् भने एउटा उद्योग विभागको परम्परागत स्वीकृति मार्गबाट दर्ता भएको छ।

यसैबीच, साउन र भदौ गरी दुई महिनाको अवधिमा सेयर खरिद सम्झौता तथा सेयर सदस्यता सम्झौतामार्फत थप १२ वटा परियोजनाका लागि ८२ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। त्यसमध्ये भदौ महिनामा मात्रै ९ वटा सम्झौतामार्फत ५६ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ।

त्यस्तै, प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत भदौ महिनासम्म ८ वटा सम्झौता स्वीकृत भएका छन्।