नेप्सेको प्राविधिक समस्याबारे छानबिन सुरु, असोज १२ भित्र प्रतिवेदन बुझाउन टोली परिचालन
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार प्रभावित भएपछि नेपाल धितोपत्र बोर्डले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको छ। बोर्डले घटनाको वास्तविक कारण पहिचान गर्न अध्ययन तथा निरीक्षण टोली परिचालन गरेको हो।
धितोपत्र बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।
बोर्डका अनुसार २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीका सर्भरहरू राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएको थियो। नेप्सेमा कारोबार गर्न अनुमति प्राप्त ९२ वटा धितोपत्र दलाल व्यवसायीमध्ये ७२ वटाका सर्भर उक्त डाटा सेन्टरमा रहेको बताइएको छ।
डाटा सेन्टरमा आएको समस्याको प्रभावका कारण असोज ५ गते धितोपत्र कारोबार नै रोक्नुपर्ने अवस्था सिर्जना भएको जानकारी पाएपछि बोर्डले घटनाबारे आवश्यक अध्ययन अघि बढाएको हो।
कारोबार स्थगित हुने अवस्था कसरी उत्पन्न भयो, प्राविधिक समस्या के थियो र भविष्यमा यस्ता घटना रोक्न के-कस्ता सुधार आवश्यक छन् भन्ने विषय समेटेर प्रतिवेदन तयार गर्न बोर्डले नेप्सेलाई भनेको छ।
यसका अतिरिक्त, समस्याको प्राविधिक पक्ष तथा कारोबार अवरुद्ध हुनुका कारणबारे स्थलगत अध्ययन गर्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत गठन गरिएको छ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार निरीक्षण टोलीको अध्ययन र सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक कदम अघि बढाइनेछ।















