आजबाट पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सुरु
काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गर्ने भएको छ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको विमानस्थलबाट विदेशी वायुसेवाको उडान सुरु हुने भएपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा स्थानीयमा उत्साह बढेको छ।
विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सेवासम्बन्धी सबै तयारी पूरा भइसकेको छ। निर्धारित तालिकाअनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ। त्यसपछि यात्रु लिएर साँझ ७ः१५ बजे दुबईतर्फ उड्ने कार्यक्रम रहेको छ। विमान पोखरा आइपुग्दा पानीको फोहराले औपचारिक स्वागत गर्ने तयारी गरिएको छ।
अन्तर्राष्ट्रिय यात्रुलाई आवश्यक पर्ने अध्यागमन, भन्सार, कार्गो लगायतका सेवा सञ्चालनका लागि विमानस्थल तयार अवस्थामा रहेको कार्यालयले जनाएको छ। फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई स्थानीय पर्यटन व्यवसायी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।
दुबई अन्तर्राष्ट्रिय हवाई यातायातको महत्वपूर्ण ट्रान्जिट केन्द्र भएकाले पोखराबाट सुरु भएको यो उडानले थप अन्तर्राष्ट्रिय गन्तव्यसम्म पुग्न सहजता ल्याउने अपेक्षा गरिएको छ। फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा सेवा दिँदै आएको बताइएको छ।
त्यस्तै, रोजगारी र अध्ययनका लागि ठूलो संख्यामा नेपाली दुबई जाने भएकाले पोखराबाट सीधा उडान सञ्चालन हुँदा यात्रुका लागि थप सुविधा हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षणसमेत गरेको छ।

















