१२ आश्विन २०८३, सोमबार

के यूबीएस स्विजरल्याण्डबाटै बाहिरिन लागेको हो ? ८ विदेशी बैंकको मर्जर प्रस्तावले बढायो आशंका



काठमाडौँ । स्विजरल्याण्डको बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो नाम यूबीएस अहिले आफ्नै देशको नयाँ नियामकीय नीतिका कारण नयाँ मोडमा पुगेको छ।

बैंकमाथि थप कडा पूँजी नियम लागू गर्ने तयारी भइरहेका बेला कम्तीमा ८ वटा विदेशी बैंकले यूबीएससँग सम्भावित मर्जर वा संयोजनका लागि रुचि देखाएको खबर बाहिरिएको छ। यसले विश्वकै चर्चित यो स्विस बैंक अब स्विट्जरल्यान्डमै सीमित भएर बस्ने कि बाहिरिने भन्ने बहसलाई थप चर्काएको छ।

स्विस अखबार ‘ब्लिक’लाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार कम्तीमा ८ वटा विदेशी बैंकले यूबीएससमक्ष सम्भावित मर्जर वा संयोजनका लागि आफ्नो रुचि संकेत गरेका हुन्। यूबीएसले भने यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन।

स्विट्जरल्यान्डले आफ्नो सबैभन्दा ठूलो बैंकमाथि थप कडा पूँजी अनुशासन लागू गर्ने प्रक्रिया अघि बढाएको समयमा यस्तो खबर बाहिर आएको हो। स्विस संसद्को माथिल्लो सदनले गत बुधबार यूबीएसका विदेशी इकाइहरूलाई ९० प्रतिशत ‘सीईटी-१’ पूँजीले धान्नुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको थियो। यूबीएसका अनुसार यो व्यवस्था लागू भए उसले करिब १६ अर्ब अमेरिकी डलर थप ‘सीईटी-१’ पूँजी राख्नुपर्नेछ।

यो रकम यूबीएसले क्रेडिट स्विसको अधिग्रहणपछि पहिले नै थप राख्नुपर्ने करिब १५ अर्ब डलरको पूँजीभन्दा अलग हो। यससँगै नियामकीय परिवर्तनबाट थपिने रकम जोड्दा क्रेडिट स्विस अधिग्रहणयता यूबीएसको अतिरिक्त ‘सीईटी-१’ पूँजी आवश्यकता करिब ३३ अर्ब डलर पुग्ने बैंकले जनाएको छ। यूबीएसले यसको वार्षिक लागत करिब २.५ अर्ब डलर पर्ने अनुमान गरेको छ।

यही पूँजीको बोझले यूबीएस र स्विस सरकारबीच लामो समयदेखि चलिरहेको विवादलाई थप गहिरो बनाएको छ। यूबीएसले ९० प्रतिशतको प्रस्तावलाई कुनै वास्तविक सम्झौता नभएको भन्दै आलोचना गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सर्जियो एर्मोटीले यस्तो नियमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यूबीएसलाई कमजोर बनाउने र बैंकको दीर्घकालीन व्यवसायिक मोडलमै असर पार्न सक्ने चेतावनी दिएका छन्।

स्विस सरकारको तर्क र क्रेडिट स्विसको पतन

यसरी नियमन कडा बनाउनुमा स्विस सरकारको तर्क भने फरक छ। यसको मूल कारण सन् २०२३ मा भएको क्रेडिट स्विसको पतन हो। क्रेडिट स्विस संकटमा परेपछि यूबीएसले त्यसलाई अधिग्रहण गरेको थियो। त्यस घटनाले स्विट्जरल्यान्डको बैंकिङ प्रणालीमा एउटा ठूलो प्रश्न खडा गर्‍यो- यदि यूबीएसजस्तो विशाल बैंक फेरि संकटमा पर्यो भने त्यसको जोखिम कसले बेहोर्ने?

त्यसैले स्विस अधिकारीहरू यूबीएससँग अझ ठूलो पूँजी सुरक्षा राख्नुपर्ने पक्षमा छन्। सरकारले विदेशी सहायक कम्पनीहरूमा पर्याप्त पूँजीको व्यवस्था भए संकटका बेला बैंकलाई पुनर्संरचना वा बिक्री गर्न सहज हुने तर्क गर्दै आएको छ। यही सोचअन्तर्गत विदेशी इकाइका लागि १०० प्रतिशत ‘सीईटी-१’ पूँजीको प्रस्ताव अघि सारिएको थियो, जसलाई पछि संसद्को माथिल्लो सदनले ९० प्रतिशतमा ल्याएको हो।

यूबीएसका लागि समस्या यहीँबाट सुरु हुन्छ। बैंकले स्विट्जरल्यान्डमा मुख्यालय राखेर विश्वभर ठूलो व्यवसाय सञ्चालन गर्छ। विदेशी कारोबारमा पनि ठूलो पूँजी बाँधेर राख्नुपर्ने अवस्था आए त्यसले बैंकको नाफा र पूँजीको प्रभावकारितामा असर पार्न सक्छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बैंकहरूले तुलनात्मक रूपमा कम पूँजी बोकेर काम गरिरहेका अवस्थामा यूबीएसको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन सक्ने बैंकको तर्क छ।

के यूबीएस साँच्चिकै स्विट्जरल्यान्ड छाड्ने तयारीमा छ?

यही तनावका बीच यूबीएस व्यवस्थापनले स्विस नियमनको प्रभाव कम गर्ने विकल्पबारे फेरि छलफल थालेको खबर आएको हो। अमेरिकी समाचारमाध्यम ‘सेमाफोर’का अनुसार, यूबीएसको वरिष्ठ व्यवस्थापनले विदेशी बैंकसँग मर्जर वा संयोजनमार्फत स्विट्जरल्यान्डको कडा नियामकीय दायराबाट बाहिरिने सम्भावनाबारे छलफल गरेको छ। यस्तो संयोजन यूबीएसको संरचना नै अर्को देशमा लैजाने एउटा सम्भावित बाटो हुन सक्ने बताइएको थियो।

अब त्यसमाथि कम्तीमा ८ विदेशी बैंकले यूबीएससँग सम्भावित मर्जरमा रुचि देखाएको खबर सार्वजनिक भएको छ। यसले स्वाभाविक रूपमा के यूबीएस साँच्चिकै स्विट्जरल्यान्ड छाड्ने तयारीमा छ भन्ने प्रश्न जन्माएको छ?

अहिलेसम्म यसको सीधा उत्तर भन्न सकिने अवस्था छैन। यूबीएसले स्विट्जरल्यान्ड छाड्ने निर्णय गरेको घोषणा गरेको छैन। बरु स्विस वित्तमन्त्री करिन केलर–सटरले नै यूबीएसले आफ्नो मुख्य आधार स्विट्जरल्यान्डबाट बाहिर लैजाने सम्भावना कम रहेको बताएकी छन्। उनका अनुसार यस्तो कदम नयाँ पूँजी नियम पालना गर्नुभन्दा महँगो र कानुनी रूपमा जटिल हुन सक्छ।

तर यूबीएसको नेतृत्वले भने नियमन अत्यधिक कडा भए आफ्नो स्विस आधारबारे पुनर्विचार गर्न सकिने संकेत पहिले नै दिइसकेको छ। यूबीएसका अध्यक्ष कोल्म केल्हेरले पूँजी नियम अत्यधिक कडा भए बैंकले आफ्नो स्विस आधारबारे सोच्नुपर्ने चेतावनी दिएका थिए।

यसमा विदेशी बैंकहरूको चासोले अर्को रोचक पक्ष थपेको छ। यदि यस्तो मर्जर सफल भए यूबीएसले आफ्नो व्यवसायको केही हिस्सा वा समग्र समूहलाई फरक नियामकीय संरचनाभित्र लैजान सक्ने सम्भावना खुल्न सक्छ।

यद्यपि यूबीएस आफैंमा करिब १.७ ट्रिलियन डलरको ब्यालेन्ससिट भएको विशाल बैंक भएकाले यसलाई आफूमा गाभ्न सक्ने वा बराबरीको संयोजन गर्न सक्ने विदेशी बैंकको संख्या सीमित छ। ठूलो आकारकै कारण सम्भावित मर्जर सामान्य बैंकिङ कारोबारजस्तो सहज हुने छैन।

सम्भावित साझेदारका रूपमा मोर्गन स्टेनली, स्ट्यान्डर्ड चार्टर्ड र डोयचे बैंकजस्ता नामबारे समेत चर्चा भएको छ। तर यी नामहरूबारे आधिकारिक रूपमा कुनै सम्झौता भएको छैन र यूबीएसले पनि यस्तो सम्भावनाबारे टिप्पणी गरेको छैन।

यहाँ अर्को महत्वपूर्ण पक्ष पनि छ, यूबीएसले क्रेडिट स्विसको एकीकरण लगभग पूरा गरिसकेको समयमा यो बहस उठेको हो। अर्थात् केही वर्षअघिसम्म संकटमा परेको अर्को स्विस बैंकलाई सम्हालेर आफ्नो आकार अझ बढाएको यूबीएस अहिले त्यही अधिग्रहणबाट सिर्जित नयाँ नियामकीय बोझका कारण आफ्नो भविष्यको संरचनाबारे सोच्नुपर्ने अवस्थामा पुगेको देखिन्छ।

क्रेडिट स्विसको पतनपछि स्विट्जरल्यान्डले ‘फेरि त्यस्तो जोखिम नदोहोरियोस्’ भनेर बैंकमाथि पूँजीको सुरक्षा बढाउन खोजिरहेको छ। यूबीएस भने ‘अत्यधिक पूँजी थुपार्दा विश्व बजारमा प्रतिस्पर्धा गर्नै कठिन हुन्छ’ भनिरहेको छ। यही दुई ध्रुवबीचको टकरावले अहिले स्विस बैंकिङको भविष्यबारे ठूलो बहस जन्माएको छ।

त्यसैले ८ विदेशी बैंकको मर्जर चासो केवल एउटा कर्पोरेट कारोबारको खबर मात्र होइन। यसले स्विट्जरल्यान्डले आफ्नो सबैभन्दा ठूलो बैंकलाई कति कडा नियमन गर्न सक्छ र त्यसको मूल्य यूबीएसले कहाँसम्म चुकाउन तयार हुन्छ भन्ने प्रश्न पनि उठाएको छ।

अहिलेका लागि यूबीएस स्विट्जरल्यान्डबाट बाहिरिँदैछ भन्ने निष्कर्ष निकाल्नु हतार हुनेछ। तर विदेशी बैंकसँग मर्जरको सम्भावना, स्विस नियमनबाट बाहिरिने विकल्पमाथिको छलफल र थप अर्बौँ डलर पूँजी राख्नुपर्ने दबाबले यूबीएसको स्विस भविष्य पहिलेभन्दा बढी अनिश्चित बनाएको छ।

यदि स्विट्जरल्यान्डले पूँजी दबाब अझ बढाउँदै लग्यो र बैंकले त्यसलाई ठूलो बोझका रूपमा हेरिरह्यो भने, आज केवल ‘विकल्प’ का रूपमा चर्चा भइरहेको विदेशी बैंकसँगको मर्जर भोलि यूबीएसको वास्तविक रणनीति नबन्ला भन्न सकिँदैन।