बिजुलीको बिल अनलाइनबाट तिराउने ऊर्जाको रणनीति: डिजिटल भुक्तानी गर्नेलाई ०.५०% रिवार्ड
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डिजिटल माध्यममार्फत विद्युत् महसुल भुक्तानी गर्ने घरेलु ग्राहकलाई थप सहुलियत दिने योजना अघि सारेको छ। अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले यस्तो व्यवस्था लागू गर्न लागेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा प्राधिकरण सञ्चालक समितिले अनलाइनबाट महसुल बुझाउने घरेलु ग्राहकलाई सुरुमा ६ महिनासम्म थप ०.५० प्रतिशत स्मार्ट ‘पे रिवार्ड’ उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरणको विद्यमान व्यवस्थाअनुसार मिटर रिडिङ भएको सात दिनभित्र महसुल तिर्ने ग्राहकले २ प्रतिशत छुट पाउँदै आएका छन्। नयाँ योजनाले उक्त छुटलाई निरन्तरता दिँदै डिजिटल माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई थप लाभ दिनेछ।
त्यस्तै, अनलाइन प्रणाली प्रयोग गरी जुनसुकै समयमा विद्युत् महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले पनि अतिरिक्त ०.५० प्रतिशत रिवार्ड प्राप्त गर्न सक्नेछन्।
यो योजना प्रारम्भिक रूपमा ६ महिनाका लागि लागू हुनेछ। योजनाबाट प्राप्त नतिजा र यसको प्रभावकारिता मूल्यांकन गरेपछि कार्यक्रमलाई निरन्तरता दिने वा नदिने विषयमा थप निर्णय गरिने प्राधिकरणले जनाएको छ।
यो पनि पढ्नुहोस् :
















