विकास बैंकको नाफामा ११३% को फड्को: लुम्बिनीको लोभलाग्दो ‘कमब्याक’, ग्रोथमा ज्योतिको छलाङ !
काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरूले वित्तीय क्षेत्रमा उत्साहजनक प्रदर्शन गरेका छन्।
वाणिज्य बैंकहरूलाई पछ्याउँदै विकास बैंकहरूले पनि सुस्त आर्थिक गतिविधिबीच पनि राम्राे कमाइ गरेका छन् ।
चालु आवकाे पहिलाे ३ महिना (साउनदेखि असाेजसम्म) मा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरूले कुल १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत वर्षको सोही अवधिमा यी बैंकहरूको कुल नाफा ११३.२३ प्रतिशतले बढेकाे हाे । गत वर्षको सोही अवधिमा यी बैंकहरूको कुल नाफा ७८ करोड ३४ लाख रुपैयाँमा सीमित रहेको रहेकाे थियाे ।
नाफा वृद्धिको दौड: प्रतिशतमा ज्योति अगाडि
नाफा वृद्धिको प्रतिशतका आधारमा ज्योति विकास बैंकले सबैभन्दा ठूलो फड्को मारेको छ। गत वर्षको पहिलो त्रैमासमा ७ करोड ३ लाख रुपैयाँ नाफा कमाएको ज्योतिले यसपालि १८४.५९ प्रतिशत को वृद्धि हासिल गर्दै २० करोड १ लाख रुपैयाँ खुद नाफा पुर्याएको छ।
यसैगरी मुक्तिनाथ विकास बैंकले आफ्नो नाफा ४३.४४ प्रतिशतले बढाएर ३२ करोड २४ लाख रुपैयाँ पुर्याएको छ भने महालक्ष्मी विकास बैंकको नाफा २१.४९ प्रतिशतले बढेर ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
कामना सेवा विकास बैंकले पनि १६.९९ प्रतिशतको सुधार गर्दै २३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
लुम्बिनीकाे ऐतिहासिक कमब्याक, कसले कति कमाए ?
परिमाण (रकम) को हिसाबले घाटाबाट ऐतिहासिक कमब्याक गरेको लुम्बिनी विकास बैंकले नै सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकको रूपमा आफूलाई शीर्ष स्थानमा उभ्याएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३४ करोड ८५ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको बैंक समिक्षा अवधिमा ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ।
उता, मुक्तिनाथ विकास बैंकले पनि ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाउँदै लुम्बिनीलाई कडा टक्कर दिएको छ भने गरिमा विकास बैंक २४ करोड १ लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।
समग्रमा अधिकांश विकास बैंकहरूको वित्तीय अवस्था उकालो लागे पनि सबै बैंकको कथा भने एकनास छैन। केही बैंकहरूको नाफामा सामान्य गिरावट र सुस्तता पनि आएको देखिएको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २.६६ प्रतिशतले घटेर १९ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ भने गरिमा विकास बैंकको नाफा पनि ४.१७ प्रतिशतले घटेको छ।
यस्तै, साङ्गि्रला डेभलपमेन्ट बैंकको नाफा ६२.०७ प्रतिशतले घटेर ३ करोड ३४ लाख रुपैयाँमा झरेको छ। तर पनि समग्र क्षेत्रको नतिजा सकारात्मक रहनुले बजारमा नयाँ उत्साह भरेको छ।















