अमेजन र उवरलाई टक्कर दिन डोरड्यासले किन्यो इन्स्टाकार्ट, झण्डै २६ खर्बकाे सम्झौता
अमेजन र उवरसँग प्रतिस्पर्धा गर्न भन्दै अमेरिकाकाे डेलिभरी क्षेत्रका दुई ठूला प्रतिस्पर्धी डोरड्यास र इन्स्टाकार्ट आपसमा गाभिने भएका छन्।
काठमाडाैँ । अनलाइन डेलिभरी सेवाप्रदायक डोरड्यासले आफ्नो प्रतिद्वन्द्वी कम्पनी इन्स्टाकार्टलाई लगभग १७ अर्ब डलर (हालकाे विनिमयदर अनुसार २५ खर्ब ८८ अर्ब रूपैयाँ) मा खरिद गर्ने भएको छ।
बिहीबार सार्वजनिक गरिएको यो सम्झौतासँगै इन्स्टाकार्टको एक स्वतन्त्र कम्पनीको रूपमा रहेको पहिचान अन्त्य भएको छ। सन् २०२३ मा सेयर बजारमा प्रवेश गरेको इन्स्टाकार्टले कोरोना महामारीको समयमा खाद्यान्न डेलिभरीको क्षेत्रमा भएको तीव्र वृद्धिको राम्रो फाइदा उठाएको थियो।
तर, उवर, अमेजन र वालमार्ट जस्ता ठूला प्रतिस्पर्धीहरूको तीव्र दबाबका बीच पछिल्लो समय कम्पनीलाई आफ्नो बजार हिस्सा र गतिशीलता कायम राख्न ठूलै संघर्ष गर्नुपरेको थियो।
इन्स्टाकार्ट र डोरड्यासको यो सहकार्यले बजारमा यी ठूला प्रतिस्पर्धीहरूसँग अझ बलियो रूपमा प्रतिस्पर्धा गर्न सक्ने एउटा बृहत् कम्पनी तयार पार्नेछ। उदाहरणका लागि अमेजनले आफ्नो खाद्यान्न ‘डेलिभरी’ सेवालाई निरन्तर विस्तार गर्दै अहिले २,३०० स्थानमा पुर्याएको छ भने वालमार्टले पनि केही क्षेत्रमा ३० मिनेटमै डेलिभरी दिने सुविधा ल्याएको छ।
यता, उवरले पनि आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै हालै मात्र कोस्टकोसँग महत्त्वपूर्ण सम्झौता गरेको छ।
एक विज्ञप्ति जारी गर्दै डोरड्यासले यी दुई कम्पनीको संयुक्त सहकार्यबाट सबै आकारका खुद्रा व्यापारी र खाद्यान्न बिक्रेताहरूले डोरड्यासको डेलिभरी नेटवर्क र इन्स्टाकार्टको खाद्यान्न व्यवस्थापनसम्बन्धी प्रविधि एकै ठाउँमा पाउन सक्ने बताएको छ।
डोरड्यासले पछिल्लो समय खाना पुर्याउने कामभन्दा बाहिर आफ्नो सेवाको दायरा बढाउँदै रेस्टुरेन्टमा टेबल बुकिङ गर्ने सेवादेखि होम डिपो र सेफोरासँग साझेदारी गरेर खाद्यान्नबाहेकका अन्य सामग्रीहरूको डेलिभरी सेवा पनि सुरु गरिसकेको छ। अब यो खरिदबिक्रीसँगै कम्पनीले खाद्यान्न डेलिभरीको कारोबारलाई अझ फराकिलो बनाउन सक्नेछ।
डोरड्यासका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी सुले अनलाइनमार्फत खाद्यान्नको कारोबार गर्नु निकै चुनौतीपूर्ण काम भएको बताएका छन्। उनका अनुसार अनलाइनबाट फलफूल छान्दा ताजा र पाकेको पर्नुपर्ने, ग्राहकले आफैँ छान्दा जस्तै विकल्प भेटिनुपर्ने र आइसक्रिम पग्लिन नपाउँदै ग्राहकको हातमा पुर्याउनुपर्ने हुन्छ।
उनले इन्स्टाकार्टले खाद्यान्न बिक्रेताहरूका लागि यी सबै काम राम्रोसँग गर्न वर्षौं लगाएर सिकेको र डोरड्यासले स्थानीय पसलहरूले दैनिक रूपमा विश्वास गर्ने डेलिभरी नेटवर्क तथा प्रविधि तयार पारेको उल्लेख गरे। अब यी दुवै मिलेर सबै आकारका पसलहरूलाई थप उपकरणहरू उपलब्ध गराउनुका साथै खाद्यान्न डेलिभरीको सम्भावनालाई नयाँ उचाइमा पुर्याउन सक्ने उनको भनाइ छ।
कानूनी अड्चन र एकाधिकार
यो खरिदबिक्री सम्झौता नगद र सेयर दुवैको मिश्रणमा हुनेछ। यसअन्तर्गत डोरड्यासले प्रतिसेयर ६५ डलर तिर्नेछ, जुन गत अक्टोबर २२ मा मिडिया रिपोर्टहरू बाहिरिँदाको इन्स्टाकार्टको बन्द सेयर मूल्यभन्दा करिब २५ प्रतिशतले बढी हो।
दुवै कम्पनीले यो सहकार्यबाट ग्राहकहरूले धेरै फाइदा लिने दाबी गरेका छन्। यसअनुसार अब ग्राहकहरूले ड्यासपास र इन्स्टाकार्टप्लस गरी दुईवटा भिन्नाभिन्नै सदस्यता शुल्क तिर्नु पर्दैन, जसले गर्दा सदस्यता शुल्कबापत मात्रै ग्राहकहरूको वार्षिक करिब १० करोड डलर बचत हुन सक्नेछ।
तर, यो सम्झौताको अहिलेदेखि नै विरोध हुन थालेको छ। एकाधिकार विरोधी वकालत गर्ने संस्था अमेरिकन इकोनोमिक लिबर्टीज प्रोजेक्ट (एइएलपी) ले नियमनकारी निकायहरूलाई यो सम्झौता रोक्न आग्रह गरेको छ। किनकि यसले तेस्रो पक्षीय खाद्यान्न डेलिभरी बजारको करिब ६० प्रतिशत हिस्सा एक्लै नियन्त्रण गर्नेछ।
एइएलपीका वरिष्ठ काउन्सल ली हेप्नरले एक विज्ञप्ति जारी गर्दै इन्स्टाकार्ट र डोरड्यासले विगत एक दशकदेखि स्थानीय व्यापारीहरूलाई पेलेर आएको र आफ्ना करिब ९० लाख कामदारहरूलाई उचित पारिश्रमिक तथा सुविधा दिन कन्जुस्याइँ गरेको आरोप लगाएका छन्। यो विलयले डाटामा आधारित शोषणको नयाँ रूप देखाउने र शक्तिमा रहेको असन्तुलनको फाइदा उठाउन कामदारको कमाइ घटाउने तथा उपभोक्ताको झोला रित्याउने उनको दाबी छ।
आगामी केही महिनाभित्रै अन्तिम रूप दिने तयारी गरिएको यो सम्झौता डेलिभरी बजारमा भइरहेका ठूला ठूला विलयहरूको शृङ्खलाको अर्को कडी हो। यसअघि सन् २०२५ मा ग्रबहबको अमेरिकी कारोबार ६५ करोड डलरमा वन्डरलाई बिक्री गरिएको थियो भने उवरले यसै वर्षकाे गर्मीमा १४ अर्ब ८० करोड डलर तिरेर युरोपेली कम्पनी डेलिभरी हिरोलाई खरिद गरेको थियो।
त्यसैगरी सन् २०२० मा उवरले पोस्टमेट्सलाई २ अर्ब ६५ करोड डलरमा किनेको थियो।















