१७ कार्तिक २०८३, मंगलबार

कति बजे छ यस वर्ष भाइटीकाको उत्तम साइत ?



काठमाडौँ। यस वर्षको तिहार अर्थात् यमपञ्चकको मिति र भाइटीकाको शुभसाइत तय भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी २०८३ सालको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ, जसको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निस्किएको छ।

यसपालिको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि प्रारम्भ हुँदैछ। पहिलो दिन धनत्रयोदशी (धन्तेरस) पर्व मनाउँदै साझँमा यमदीपदान गरिनेछ। त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरि जयन्ती एकैदिन परेको छ भने कात्तिक २२ गते आइतबार बिहान कुकुर तिहार र नरक चतुर्दशी मनाएर साँझमा ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-आराधना गरिनेछ।

तिहारको चौथो दिन कात्तिक २३ गते सोमबार गाईपूजा परेको छ। त्यसको भोलिपल्ट अर्थात् कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहारका साथै नेवार समुदायमा म्हपूजा र नेपाल संवत् ११४७ को नयाँ वर्ष स्वागत गरिनेछ।

पर्वको अन्तिम तथा मुख्य दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। समितिले सो दिन टीका लगाइदिँदा दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्दा दाजुभाइ पश्चिमतर्फ फर्किनुपर्ने शास्त्रीय नियमसमेत स्मरण गराएको छ।