कान्तिपुर फर्मास्युटिकल्सले पायो १७ करोडको आईपीओ निष्कासन गर्ने बाटो
काठमाडाैँ । कान्तिपुर फर्मास्युटिकल्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने औपचारिक स्वीकृति प्राप्त गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट कात्तिक १९ गते नै यससम्बन्धी अनुमति मिलेसँगै कम्पनीलाई पुँजी बजारमा प्रवेश गर्ने बाटो खुलेको हो । बोर्डको स्वीकृतिसँगै अब कम्पनीले आफ्नो कुल पुँजीको अंश साधारण लगानीकर्तामाझ लैजाने प्रक्रिया अगाडि बढाएको छ ।
स्वीकृति पाएअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका दरले कुल १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यसरी निष्कासन गरिने सेयरबाट कम्पनीले सर्वसाधारणबाट कुल १७ करोड रुपैयाँ पुँजी संकलन गर्नेछ ।
उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कामको जिम्मा मुक्तिनाथ क्यापिटलले सम्हाल्नेछ ।
व्यवसायिक विस्तारका दृष्टिले कम्पनीको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण निकै उत्साहजनक देखिएको छ । आर्थिक वर्ष २०८१-८२ मा कान्तिपुर फर्मास्युटिकल्सको सञ्चालन आम्दानीमा करिब ८० प्रतिशतको भारी वृद्धि आएको छ ।
अघिल्लो आर्थिक वर्षमा २२ करोड ७० लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ४० करोड ९० लाख रुपैयाँ पुगेको छ ।
आम्दानी उल्लेख्य रूपमा बढे पनि कम्पनीको खुद नाफा मार्जिनमा भने केही संकुचन आएको छ । पछिल्लो विवरणअनुसार खुद नाफा मार्जिन १३.९५ प्रतिशतबाट घटेर ६.२८ प्रतिशतमा झरेको छ ।
व्यवसायिक रेटिङका क्रममा उच्च मौज्दातको स्थिति, चालु पुँजीप्रतिको अत्यधिक निर्भरता र बढ्दै गएको ब्याज खर्चलाई कम्पनीका प्रमुख व्यावसायिक चुनौतीका रूपमा औँल्याइएको छ ।















