२१ कार्तिक २०८३, शनिबार

तिहारअघि भारतीय शेयर बजारमा ऐतिहासिक उछाल, ३५ वर्षको रेकर्ड तोड्दै लगानीकर्ता मालामाल



तिहारअघि भारतीय शेयर बजारमा देखिएको अभूतपूर्व तेजीले ३५ वर्षको रेकर्ड तोड्दै लगानीकर्ताको सम्पत्तिमा २९ लाख ५७ हजार करोड रुपैयाँभन्दा बढीको भारी वृद्धि भएको छ।

काठमाडाैँ । दिपावलीको पर्व नजिकिँदै गर्दा भारतीय शेयर बजारमा निकै उत्साहजनक र ऐतिहासिक तेजी देखने मिलेको छ। बजारमा आएको यो उछालले पछिल्लो ३५ वर्षको रेकर्ड समेत भङ्ग गरेको छ।

यस चरणमा भारतीय शेयर बजारका प्रमुख सूचकांकहरू लगातार सातवटा कारोबार सत्रसम्म निरन्तर उकालो लागेर बन्द भएका छन्। यस दौरान लगानीकर्ताहरूको व्यक्तिगत तथा संस्थागत सम्पत्तिमा करिब २९ लाख ५७ हजार करोड रुपैयाँको भारी वृद्धि भएको छ। .

बजारका विश्लेषकहरूले यसलाई पछिल्लो समयको सबैभन्दा ठूलो र आक्रामक रिकभरीका रूपमा हेरेका छन्।

यस ऐतिहासिक वृद्धिलाई सहज रूपमा बुझ्नका लागि यी सूचकांकहरूको सामान्य परिचय बुझ्नु आवश्यक हुन्छ। ‘सेन्सेक्स’ भन्नाले बम्बई शेयर बजार (बीएसई) मा सूचीकृत भएकामध्ये सबैभन्दा बलियो, स्थिर र आर्थिक रूपमा सक्षम ३० वटा ठूला कम्पनीहरूको शेयर मूल्यमा हुने घटबढलाई मापन गर्ने प्रमुख आधार हो।

त्यस्तै, ‘निफ्टी’ भन्नाले नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा कारोबार हुने उत्कृष्ट ५० वटा प्रमुख कम्पनीहरूको शेयर निष्कासन र मूल्यको औसत चाललाई देखाउने सूचकांक हो। यी दुवै सूचकांकले समग्र शेयर बजारको स्वास्थ्य र लगानीकर्ताको मनोबल कस्तो छ भन्ने कुराको स्पष्ट चित्र प्रस्तुत गर्छन्।

रेकर्ड ब्रेक प्रदर्शन

कार्तिक ११ गतेदेखि सुरु भएको सात कारोबार सत्रको यो उकालो यात्राको क्रममा सेन्सेक्स १०.६ प्रतिशत अर्थात् ७,७८२ अङ्कले उकालो लाग्यो। यो तथ्यांकले दिपावलीअघि विगत ३५ वर्षमा कहिल्यै नदेखिएको सबैभन्दा ठूलो वृद्धिलाई इङ्कित गर्छ। यस्तै, निफ्टीमा पनि यसै अवधिमा १०.२७ प्रतिशतको तीव्र वृद्धि दर्ता भयो।

साताको अन्तिम दिन कार्तिक २० गते शुक्रबार पनि बजारमा यही सकारात्मक गति कायम रह्यो। उक्त दिन सेन्सेक्स १,७१८ अङ्क अर्थात् २.१७ प्रतिशतले बढेर ८१,०२८.०२ अङ्कमा बन्द भयो भने निफ्टी ४९४ अङ्क अर्थात् २.०१ प्रतिशतको वृद्धिसहित २५,०३०.३५ अङ्कमा पुग्यो।

यी दुवै सूचकांक करिब आठ महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएका छन्, जससँगै सेन्सेक्सले पुनः ८०,००० र निफ्टीले २५,००० को मनोवैज्ञानिक सीमालाई पार गरेका छन्। यसै साता मात्रै सेन्सेक्स ८.८ प्रतिशत र निफ्टी ८.६ प्रतिशतले बढेका छन्, जुन फागुन २०७७ यताकै सबैभन्दा उत्कृष्ट साप्ताहिक प्रदर्शन हो।

त्यतिबेला कोरोना भाइरसविरुद्धको खोप आउने आशा र त्यसले सिर्जना गरेको सकारात्मक मनोविज्ञानका कारण बजारमा ठूलो उछाल आएको थियो।

कार्तिक ११ गतेबाट सुरु भएको यो तीव्र वृद्धिको अवधिमा बम्बई शेयर बजार (बीएसई) मा सूचीकृत सम्पूर्ण कम्पनीहरूको कुल बजार पुँजीकरण बढेर ५०३.११ लाख करोड रुपैयाँ पुगेको छ। यसै अवधिमा बजारमा करिब २९ लाख ५७ हजार करोड रुपैयाँ बराबरको थप सम्पत्ति थपियो।

यसले बजारमा आएको हरियालीले कसरी सर्वसाधारणदेखि संस्थागत लगानीकर्ताहरूको पोल्टामा ठूलो धनराशी थपिदियो भन्ने प्रष्ट पार्छ।

बजारमा तीव्र बृध्दि आउनुका ५ प्रमुख कारण

यसपटक शेयर बजारमा देखिएको यो अभूतपूर्व बृध्दिका पछाडि मुख्यतया पाँचवटा ठूला कारणहरू जिम्मेवार रहेका छन्।

पहिलो कारण विदेशी लगानीकर्ताहरूको बजारमा भएको जोरदार पुनरागमन हो। विदेशी पोर्टफोलियो लगानीकर्ताहरूले यस अवधिमा भारतीय शेयर बजारमा करिब ४९ हजार ५०० करोड रुपैयाँ बराबरको अर्थात् करिब ५.२ अर्ब डलरको खुद खरिद गरेका छन्, जसले बजारलाई बलियो आधार दिएको छ।

दोस्रो कारणमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र गिरावटलाई लिइएको छ। दुई साताभन्दा कम समयमा कच्चा तेलको मूल्य करिब २० प्रतिशतसम्म तल झर्यो, जस अन्तर्गत ब्रेंट क्रुडको मूल्य प्रतिव्यारेल १०० डलरभन्दा तल झरेर शुक्रबार करिब ९६.९९ डलर आसपासमा कारोबार भयो।

तेस्रो कारणका रूपमा अमेरिकाको मध्यावधि निर्वाचनको नतिजालाई हेरिएको छ, जहाँ डेमोक्रेटिक पार्टीले ठूलो पराजय व्यहोरेको छ भने यसलाई तत्कालीन राष्ट्रपतिको नीतिविरुद्धको जनादेशका रूपमा बजारले अर्थ्याएको छ। यसले अमेरिकी सरकारको व्यापार र विदेश नीतिमा केही स्थिरता ल्याउने अपेक्षा लगानीकर्तामा जागेको छ।

चौथो कारणका रूपमा अमेरिकी डलरको दाँजोमा भारतीय रुपैयाँमा देखिएको उल्लेख्य सुदृढीकरण रहेको छ। शुक्रबार भारतीय रुपैयाँ डलरको मुकाबले करिब ९३.९० को बलियो स्तरमा पुग्यो, जुन वैशाख महिनायताकै बलियो विन्दु थियो। यसले भारतीय बजारमा विदेशी लगानीलाई थप आकर्षक बनायो।

पाँचौँ तथा अन्तिम कारण बैंकिङ तथा वित्तीय क्षेत्रका शेयरहरूमा देखिएको उच्च खरिद चाप हो। यस साता वित्तीय क्षेत्र समग्रमा १०.४ प्रतिशत र निजी बैंकहरूको शेयर ९.१ प्रतिशतले उकालो लागेको छ।

ग्लोबल टेक र एआई शेयरको प्रभाव

यसैबीच, अमेरिका तथा एसियाका अन्य ठूला बजारहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित कम्पनीहरूको शेयरमा भने भारी बिक्री दबाब देखिएको थियो।

सम्बन्धित प्रविधि कम्पनीहरूले एआई पूर्वाधारमा अत्यधिक लगानी गरिरहेको तर त्यसको तुलनामा प्रतिफल कति हुन्छ भन्ने कुरा अझै अनिश्चित रहेको चिन्ता लगानीकर्तामा व्याप्त छ। यसको प्रत्यक्ष नकारात्मक प्रभाव दक्षिण कोरिया, जापान र ताइवानका शेयर बजारहरूमा पर्यो, जहाँ कोरिया र जापानका बजारहरू करिब छ प्रतिशतले घटे भने ताइवानको बजार साढे चार प्रतिशतले तल झर्यो।

यद्यपि, भारतीय शेयर बजारमा एआई पूर्वाधारमा ठूलो लगानी गर्ने प्रविधि कम्पनीहरूको हिस्सा निकै कम रहेको छ। यसै कारणले गर्दा विश्वव्यापी रूपमा देखिएको एआई शेयरको यो बिक्रीचापको असर भारतमा तुलनात्मक रूपमा निकै कम देखिन पुग्यो र शुक्रबार निफ्टी आईटी इन्डेक्स समेत ०.४ प्रतिशतले सकारात्मक रह्यो।

लगातार सात कारोबार सत्रसम्म बजार तीव्र गतिले उकालो लागेका कारण अब केही लगानीकर्ताहरूले मुनाफा सुरक्षित गर्नेतर्फ ध्यान दिन सक्ने सम्भावना रहेको छ। यसले गर्दा आगामी दिनहरूमा बजारमा केही सामान्य उतारचढाव वा करेक्सन देखिन सक्ने विश्लेषकहरूको आकलन छ।

यद्यपि, बजारको यो गति आगामी दिनमा कति टिकाऊ हुन्छ भन्ने कुरा मुख्यतया विदेशी लगानीकर्ताहरूको खरिद प्रवृत्ति, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यको चाल, सूचीकृत कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण, अमेरिकी नीतिगत निर्णयहरू तथा पश्चिम एसियाको भूराजनीतिक अवस्थामा निर्भर रहनेछ।