तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ खिच्ने, आजै बोलकबोल
बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलतालाई नियन्त्रणमा लिन नेपाल राष्ट्र बैंकले करिब दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ ।
काठमाडाैँ । बैंक तथा वित्तीय संस्थामा थुप्रिएको नगद परिचालन हुन नसकेर बढेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ठूलो धनराशि निक्षेप संकलन उपकरणमार्फत खिच्ने तयारी गरेको छ ।
मौद्रिक व्यवस्थापन विभागले यसै कात्तिक २७ गते २० दिनको अवधिका लागि दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बजारमा ल्याउन लागेको हो । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता थुप्रिने क्रम बढेपछि केन्द्रीय बैंकले यसलाई नियमित उपकरणमार्फत नियन्त्रणमा राख्ने नीति लिँदै आएको छ ।
यो उपकरणको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्ग (वाणािज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी) का बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत आबद्ध भएर आवेदन पेस गर्नुपर्नेछ । यसरी संकलन गरिने निक्षेपको ब्याजदर खुला बोलकबोलका आधारमा नै तय हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आवश्यकता र रणनीति अनुसार बहुब्याजदरमा समेत बोलकबोल गर्न पाउने छुट दिइएको छ । केन्द्रीय बैंकका अनुसार यो प्रक्रियाबाट संकलन भएको निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिनेछ ।
बोलकबोलमा भाग लिने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतममा राष्ट्र बैंकले आह्वान गरेको कुल रकमसम्मै आवेदन दिन सक्नेछन् । तर, त्यसरी आवेदन दिँदा रकम १० करोड रुपैयाँले ठ्याक्कै भाग जाने गरी मात्र तोक्नुपर्ने नियम बनाइएको छ । निक्षेप संकलन उपकरण बाँडफाँटको खाका तयार पार्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने वित्तीय संस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ ।
यदि धेरै बैंक तथा वित्तीय संस्थाको प्रस्ताव गरिएको ब्याजदर समान भएमा कुल माग आह्वान गरिएको रकमको सीमालाई हेरेर समानुपातिक आधारमा बाँडफाँट गरिनेछ ।
केन्द्रीय बैंकले उठाउन लागेको यस निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको रकमलाई अनिवार्य नगद मौज्दात अर्थात सीआरआरमा भने गणना गर्न पाइने छैन । यद्यपि, राष्ट्र बैंकले जारी गरेको मौद्रिक निर्देशन अनुसार बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) र सामान्य तरलता अनुपातको हिसाबमा भने यो रकम जोडिन सक्नेछ ।















