१,००३ किमि. रेन्ज दिने बीवाईडीको शक्तिशाली इलेक्ट्रिक एसयूभी डेन्जा एन८ आज सार्वजनिक हुँदै
एक पटकको चार्जमा एक हजार तीन किलोमिटरभन्दा बढीको रेन्ज र ११ सय ९३ हर्सपावर क्षमताको बीवाईडीको नयाँ डेन्जा एन८ इभी आज चीनमा सार्वजनिक हुँदैछ।
काठमाडाैँ । चिनियाँ अटोमोबाइल उत्पादक बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले आफ्नो नयाँ र परिष्कृत विद्युतीय एसयूभी (इभी) ‘एन८’ आज नोभेम्बर १२ का दिन औपचारिक रूपमा बजारमा ल्याउने घोषणा गरेको छ। यस सवारीसाधनका लागि बुकिङ गत अक्टोबर २६ देखि नै खुला गरिएको थियो।
कम्पनीले यस नयाँ मोडलबाट विद्युतीय सवारीसाधनको बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरेको छ।
नयाँ डेन्जा एन८ इभीले कम्पनीको स्थापित डिजाइन भाषालाई निरन्तरता दिएको छ। यसको अगाडिको भागमा दुईवटा स्ट्रिपसहितको एलईडी डे-टाइम रनिंग लाइट र ठाडो हाई तथा लो-बीम युनिटहरू मिलेर बनेका आकर्षक स्प्लिट हेडलाइटहरू राखिएका छन्।
गाडीको अगाडिको बम्परमा सक्रिय एयर भेन्टहरू समावेश गरिएका छन् भने सामान राख्नका लागि अगाडि छुट्टै फ्रंकको सुविधा पनि उपलब्ध छ। ग्राहकहरूले यस गाडीका लागि पिलेस्ट्रियल सियान, नाइट ब्ल्याक, स्ट्रिमर सिल्भर र क्लाउड ग्रे गरी चारवटा एकल बाह्य रङहरू छान्न सक्नेछन्।
यसबाहेक, डिप स्पेस ब्लु, अरोरा ग्रीन, डेलाइट अर्न्ज र ट्वालाइट ग्रे गरी चारवटा टु-टोन विकल्पहरू पनि उपलब्ध गराइएका छन्।
यस गाडीको लम्बाइ पाँच हजार एक सय ५० मिलिमिटर, चौडाइ एक हजार नौ सय ९९ मिलिमिटर र उचाइ एक हजार आठ सय २० मिलिमिटर रहेको छ भने यसको ह्वीलबेस तीन हजार ७५ मिलिमिटर छ। गाडीमा कन्केभ वा अर्ध-लुकेको डोर ह्यान्डल डिजाइन प्रयोग गरिएको छ र यसमा २० इन्च वा २१ इन्चका पाङ्ग्राका विकल्पहरू राखिएका छन्।
पछाडिको भागमा उच्च स्थानमा राखिएको ब्रेक लाइटसहितको रुफ स्पोइलर, लुकेको रियर वाइपर र पूरा चौडाइमा फैलिएका दुई-स्ट्रिप टेललाइटहरूले गाडीको सौन्दर्य बढाएका छन्। गाडीको ट्रंकको क्षमता एक हजार ४६ लिटर रहेको छ जसमा आवश्यक सामानहरू सहजै व्यवस्थापन गर्न सकिन्छ र थप भण्डारणका लागि लुकेका कम्पार्टमेन्टहरू पनि राखिएका छन्।
इन्टेरियर र अत्याधुनिक प्रविधि
गाडीको भित्री क्याबिनलाई निकै अत्याधुनिक र विलासी बनाइएको छ, जसमा ३० इन्चको प्यानोरमिक स्क्रिन र एक दशमलव एक मिटर चौडा इन्टिग्रेटेड ‘स्काई स्क्रिन’ समावेश गरिएको छ। क्याबिनलाई प्रिमियम छाला र काठको बनावटका आकर्षक फिनिसिङले सजाइएको छ। भित्री भागका लागि मुनलाइट माउन्टेन, मोर्निङ मिस्ट बेज, डोन रेड र इभनिङ ब्राउन गरी चारवटा रङका विकल्पहरू छनौट गर्न सकिन्छ।
यात्रुहरूको आरामलाई ध्यानमा राख्दै यसमा चारवटा जिरो-ग्राभिटी सिटहरू जडान गरिएका छन्, जसमा अगाडि दुई र पछाडि दुईवटा सिट रहेका छन्। अगाडिका सिटहरूलाई अधिकतम १६५ डिग्रीसम्म झुकाउन सकिन्छ भने पछाडिका सिटहरूलाई १४६ डिग्रीसम्म झुकाउन मिल्नुका साथै १३ सेन्टिमिटरसम्म अगाडि-पछाडि सार्न सकिन्छ।
सबै सिटहरूमा भेन्टिलेसन, हिटर र मसेजका सुविधाहरू उपलब्ध गराइएका छन्। यसबाहेक, ५० वाटका दुईवटा वायरलेस चार्जिङ प्याड, एम्बियन्ट लाइटिङ, डेभिएलेट साउन्ड सिस्टम, पछाडिका यात्रुहरूका लागि मनोरञ्जन स्क्रिन, अनबोर्ड रेफ्रिजरेटर र ‘गोड्स आई ५.०’ ड्राइभर-असिस्टेन्स प्रणाली जस्ता सुविधाहरूले गाडीलाई थप उत्कृष्ट बनाएका छन्।
पर्फरमेन्स र ब्याट्री क्षमता
डेन्जा एन८ इभी रियर-ह्वील ड्राइभ र अल-ह्वील ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुनेछ। सिंगल-मोटर संस्करणमा तीन सय २० किलोवाट र तीन सय ७० किलोवाट क्षमताका दुईवटा पावर आउटपुट विकल्पहरू राखिएका छन्।
ट्रिप-मोटर संस्करणमा अगाडि एउटा र पछाडि दुईवटा मोटरको लेआउट प्रयोग गरिएको छ, जसअन्तर्गत अगाडिको मोटरले दुई सय ७० किलोवाट र प्रत्येक पछाडिको मोटरले तीन सय १० किलोवाट शक्ति उत्पादन गर्छन्। यसको संयुक्त प्रणालीको कुल शक्ति आठ सय ९० किलोवाट वा एक हजार एक सय ९३ हर्सपावर पुग्छ।
यस शक्तिशाली कन्फिगरेसनका कारण गाडीमा ‘कम्पास टर्न’ र इन्टेलिजेन्ट क्रलिङ मोडजस्ता विशेष सुविधाहरूको समेत अनुभव गर्न सकिन्छ।
दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फ्ल्यास-चार्जिङ प्रविधिले सुसज्जित यस इभीले विभिन्न रेन्जका विकल्पहरू प्रदान गर्छ। यसको उच्च श्रेणीको १३० दशमलव १५ किलोवाट आवरको ब्याट्रीले सीएलटीसी मापदण्ड अनुसार एक हजार तीन किलोमिटर र डब्ल्युएलटीपी मापदण्ड अनुसार करिब आठ सय १२ किलोमिटरको रेन्ज प्रदान गर्छ।
यसबाहेक, अन्य ब्याट्री कन्फिगरेसनहरूले नौ सय ७० किलोमिटर, आठ सय ४० किलोमिटर र आठ सय किलोमिटरको रेन्ज दिनेछन्। सवारीसाधनलाई सहज र नियन्त्रित रूपमा हाँक्नका लागि यसमा ‘डिसस-ए’ इन्टेलिजेन्ट एयर सस्पेन्सन प्रणाली र रियर-ह्वील स्टेरिङ जडान गरिएको छ।
कम्पनीले आगामी दिनमा यसको प्लग-इन हाइब्रिड संस्करण पनि बजारमा ल्याउने तयारी गरेको छ।















