२९ कार्तिक २०८३, आइतबार

नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १ अर्ब ८२ करोड



काठमाडौँ। नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३७.३५ प्रतिशतले उकालो लागेको हो।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसपटक खुद नाफामा ४९ करोड ४९ लाख रुपैयाँको वृद्धि भएको हो।

नाफामा उल्लेख्य सुधार देखिए पनि कम्पनीको कुल सञ्चालन आयमा भने खासै परिवर्तन आएको छैन। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आय गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो तीन महिनामा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो। यस अवधिमा कुल आय ६६ लाख ४६ हजार रुपैयाँले बढेको देखिन्छ।

कम्पनीले आफ्नो मुख्य व्यावसायिक गतिविधिबाट कति सञ्चालन मुनाफा कमाइरहेको छ भन्ने देखाउने वित्तीय सूचक ईबीआईटीडीए भने घटेको छ। ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा गत वर्षको ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँबाट घटेर चालु आर्थिक वर्षमा ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। यो ६.१३ प्रतिशतको गिरावट हो।

यसको विपरीत करअघिको नाफामा सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको करअघिको मुनाफा अहिले २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा रहेको छ।

बाढीपहिरोका कारण सेवा बिक्रीमा असर

नेपाल टेलिकमले सार्वजनिक गरेको विवरणमा प्राकृतिक विपद्का कारण सेवा प्रवाह र आम्दानी प्रभावित भएको उल्लेख छ। गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित ग्राहकलाई कम्पनीले १७ दिनसम्म नि:शुल्क भ्वाइस तथा डेटा सेवा उपलब्ध गराएको थियो।

विपद्का कारण उक्त क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुनुका साथै आर्थिक तथा व्यावसायिक गतिविधिसमेत प्रभावित भएका थिए। यसले नियमित सेवा बिक्रीबाट प्राप्त हुने आम्दानीमा असर पारेको कम्पनीको भनाइ छ। असोज २५ गते बूढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि सेवा सञ्चालनमा अवरोध सिर्जना गरेको थियो।

अर्कोतर्फ, सस्तो मूल्यका ठूला डेटा प्याकेजको प्रयोग बढ्दै जाँदा दूरसञ्चार सेवाको आम्दानी संरचनामा समेत परिवर्तन आएको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा जीएसएम सेवातर्फ १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फ ४ करोड ४० लाख रुपैयाँ सञ्चालन राजस्व थपिएको छ।

खर्च कटौतीले नाफा बढाउन सहयोग

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि हुँदा कर्मचारीसम्बन्धी खर्च बढेको छ। तर, ह्रासकट्टी खर्चमा आएको कमी र मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण समग्र खुद खर्च घटेको हो।

यी कारणले कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले कम भएको छ। सञ्चालन आयमा उल्लेख्य विस्तार हुन नसकेको अवस्थामा खर्च नियन्त्रणले खुद नाफा वृद्धिमा सहयोग पुर्‍याएको देखिन्छ।

नेपाल टेलिकमले आम्दानीको प्रतिफल कम हुने भए पनि विकट तथा दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार र विद्यमान सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।