विपद् र आन्दोलनको भारले थिचेको निर्जीवन बीमा बजार; कुल घाटा घट्यो, केही कम्पनीले उकासे वित्तीय स्थिति
विगतका ठूला विपद् र आन्दोलनको भारी दाबी भुक्तानीको दबाबका बाबजुद निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा कम गराएका छन् भने आधा दर्जनभन्दा बढी कम्पनी खुद नाफामा उक्लन सफल भएका छन्।
काठमाडाैँ । गत वर्ष भदौमा भएको जेनजी आन्दोलन र चालु आर्थिक वर्षको भदौमा आएको विनाशकारी बाढीले उत्पन्न गराएको ठूलो दाबी भुक्तानीको दबाब बीमा क्षेत्रबाट अझै पूर्ण रूपमा हल भएको छैन।
एकपछि अर्को विपद्ले खडा गरेको चुनौतीको पहाडका बाबजुद निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधारका संकेत देखाएका छन्। गत वर्षको सोही अवधिको तुलनामा समग्र क्षेत्रको घाटा घटे पनि निर्जीवन बीमा बजार अझै पनि समग्रमा घाटाकै स्थितिमा अल्झिएको छ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरणले यस्तो यथार्थ उजागर गरेको छ। यस अवधिमा यी कम्पनीहरूको कुल खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षको यही अवधिमा भने यी कम्पनीहरूको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ रहेको थियो। लगातारका विपद् र दाबीको बोझका बाबजुद समग्र नोक्सानीको आकार घट्नुले बीमा बजारमा केही सम्हालिने प्रयास देखाइरहेको विश्लेषकहरू बताउँछन्।
नाफामा फर्किएका प्रमुख कम्पनी
समीक्षा अवधिमा केही प्रमुख कम्पनीहरूले आफ्नो वित्तीय चित्रलाई उल्ट्याउँदै नाफा आर्जन गर्न सफल भएका छन्। गत वर्ष घाटा व्यहोरेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको त्रैमासमा २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा कमाउँदै बलियो पुनरागमन गरेको छ। गत वर्षको सोही अवधिमा यो कम्पनी ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको थियो।
त्यस्तै, प्रभु इन्स्योरेन्सले चालु वर्षमा ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्ष ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ थियो। यस हिसाबले यस कम्पनीको नाफा ५.८० प्रतिशतले बढेको छ।
गत वर्ष नोक्सानी व्यहोरेका शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफाको बाटो समाएका छन्। असोजसम्मको अवधिमा शिखर इन्स्योरेन्सले ४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने गत वर्ष यसै अवधिमा कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा थियो।
यस्तै, गत वर्ष १० करोड १० लाख रुपैयाँ घाटामा रहेको एनएलजी इन्स्योरेन्सले यसपटक ३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ। २० करोड ७६ लाख रुपैयाँ घाटामा रहेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि समीक्षा अवधिमा ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
यता, नेशनल इन्स्योरेन्सले भने ७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको ३ करोड ८१ लाखको दाँजोमा ९८.१६ प्रतिशतले कम हो।

अझै पनि ऋणात्मक !
एकातर्फ केही कम्पनीले नाफामा छलाङ मार्दा अर्कातर्फ अझै पनि अधिकांश निर्जीवन बीमा कम्पनीहरूको वित्तीय स्थिति ऋणात्मक नै रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ८ वटा बीमा कम्पनीको नाफाको अंक ऋणात्मक देखिएको छ।
युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ घाटामा रहेको छ, यद्यपि गत वर्ष यसको घाटा १५ करोड ११ लाख रुपैयाँ थियो।
यसैगरी, नेको इन्स्योरेन्स ८ करोड १८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख रुपैयाँ घाटामा चलिरहेका छन्। गत वर्षको तुलनामा यी केही कम्पनीको घाटाको आकार केही खुम्चिए पनि उनीहरू नोक्सानीको दबाबबाट मुक्त हुन सकेका छैनन्।
गत वर्ष नेको इन्स्योरेन्स ८ करोड ३१ लाख, सिद्धार्थ प्रिमियर २९ करोड ८५ लाख, नेपाल इन्स्योरेन्स ९ करोड ६३ लाख र सगरमाथा लुम्बिनी २६ करोड ७३ लाख रुपैयाँ घाटामा रहेका थिए।
यसका साथै अन्य केही कम्पनीहरूको नोक्सानीको परिदृश्य अझै चिन्ताजनक देखिएको छ। सानिमा जिआईसी इन्स्योरेन्स २९ करोड ३७ लाख रुपैयाँ घाटामा पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २० करोड २ लाख ३ हजार रुपैयाँ थियो। यसैगरी, द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख रुपैयाँ घाटामा छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स ४० करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा दि ओरिएन्टल इन्स्योरेन्स २८ करोड ४८ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्स १० करोड ९३ लाख रुपैयाँ घाटामा रहेका थिए। एकपछि अर्को विपद् र बढ्दो दाबी भुक्तानीको चापले यी कम्पनीहरूको वित्तीय व्यवस्थापनलाई आगामी दिनमा थप कडा परीक्षण गर्ने देखिएको छ।















