३० कार्तिक २०८३, सोमबार

नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेका ३ सुझाव : बैंकिङ क्षेत्र सुधारमा साथ दिने प्रतिवद्धता



काठमाडौं। नेपाल बैंक लिमिटेडलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन बढाउन आग्रह गरेका छन्। बैंकको ९०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कर्जा प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनुपर्नेमा जोड दिएका हुन्।

मुलुकको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेकोले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारको दिशामा सबै पक्ष अगाडि बढ्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो।

उनले भने, “बैंकिङ क्षेत्रको सफलता निक्षेप र कर्जाको आकारले मात्र होइन, राष्ट्रिय उत्पादन, रोजगारी र आर्थिक विकासमा पुर्‍याएको योगदानबाट मापन हुनुपर्दछ। कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अपरिहार्य छ।”

नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेका ३ सुझाव

कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपाल बैंकले आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउनुपर्ने तीनवटा प्रमुख सुधारका क्षेत्रहरू औँल्याएका छन् । ती हुन्:

१) उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालन: कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्यम (एसएमइज) मा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने।

२) संस्थागत सुशासन र वित्तीय अनुशासन: पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने। पछिल्लो समय देखिएको खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्न कर्जा असुली र सम्पत्तिको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने।

३) डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरण: प्रविधि र ग्राहकको अपेक्षाअनुरूप सेवालाई सरल, सुरक्षित तथा छिटो बनाउने। साथै, ग्रामीण क्षेत्रका नागरिक, महिला, साना उद्यमी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न पहल गर्ने।

यी तीनवटै क्षेत्रको सुधारले बैंकको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै समग्र अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत पुग्ने अर्थमन्त्री वाग्लेको विश्वास छ।

उच्च मापदण्ड कायम गर्नुपर्नेमा जोड

नेपालको आधुनिक बैंकिङ प्रणालीको जगको रूपमा रहेको नेपाल बैंकको ९० वर्षको यात्रा समग्र वित्तीय क्षेत्रकै लागि ऐतिहासिक अवसर भएको अर्थमन्त्री वाग्लेले बताए। वि.सं. १९९४ सालमा बैंक स्थापना हुँदाको कानुनको प्रस्तावनामा उल्लेखित ‘आर्थिक उन्नति र जनतालाई सुविस्ता दिने’ लक्ष्य आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले स्मरण गरे।

सरकारी स्वामित्वको अग्रणी बैंक भएकाले नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्नेमा जोड दिँदै उनले सरकार र अर्थ मन्त्रालय बैंकिङ क्षेत्रको सुदृढीकरणका लागि नीतिगत सहजीकरण गर्न सधैँ प्रतिबद्ध रहेको बताए।