१ मंसिर २०८३, मंगलबार

डिजिटल बैंकिङमा मुक्तिनाथ बैंकको फड्को, घरमै बसी कर्जा आवेदन हेर्न सकिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले लोन एप्लिकेशन ट्र्याकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्नेछन ।

ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले निरन्तर डिजिटल ट्रान्फरमेसन तथा लगातार नवप्रवर्तन मार्फत आफ्ना सेवा, प्रक्रिया र ग्राहक अनुभवलाई अझ सरल, प्रभावकारी तथा ग्राहक केन्द्रित बनाउँदै आएको छ । सोको निरन्तरता स्वरुप यो नवीन सेवा सार्वजनिक गरिएको हो ।

यस सेवाको माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा रहेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू के–के छन् भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सक्नेछन । यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर तथा लोन एप्लिकेशन ट्र्याकिङ आइडी प्रयोग गरी कर्जा आवेदनको अवस्था सहज रूपमा हेर्न सक्नेछन ।

कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले शाखा कार्यालयमा उपस्थित हुने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्थालाई, यस सेवाको सुरुवातसँगैे उक्त जानकारी आफै डिजिटल रूपमा अनुगमन गर्न सक्ने भएका छन । यसले ग्राहकको समय बचत गर्नुका साथै सेवा प्रक्रियामा पारदर्शिता, सूचनामा सहज पहुँच तथा ग्राहक विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।