प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र, के के छन् एजेन्डा?
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका लागि कूटनीतिक तयारी तीव्र पारिएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी आगामी मङ्सिर ६ गते दुईदिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दैछन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणलाई प्रभावकारी बनाउन विषयगत र आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ। गत असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भए पनि प्रधानमन्त्रीको रूपमा उनको यो पहिलो छिमेकी देशको औपचारिक राजकीय भ्रमण हुन लागेको हो।
भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि भारतीय विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते काठमाडौँ भ्रमण गरी उच्चस्तरीय भेटवार्ता गरेका थिए भने दुवै देशले नयाँ राजदूतसमेत नियुक्त गरिसकेका छन्।
प्रमुख एजेन्डा : कनेक्टिभिटी र पूर्वाधार विकास
भ्रमणका क्रममा दुई देशबीच यातायात तथा सञ्चार सम्पर्क (कनेक्टिभिटी) विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ। जसमा हवाई रुटको दायरा बढाउँदै नेपालका लागि थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने विषय प्रमुख रूपमा उठ्नेछ।
यसबाहेक, रेलवे तथा सडक सञ्जालको विकास अन्तर्गत जनकपुर–अयोध्या रेल सेवाको औपचारिक शुभारम्भ, जयनगर–जनकपुर लाइनलाई बर्दिबाससम्म विस्तार गर्ने र रणनीतिक महत्त्वको रक्सौल–काठमाडौँ रेलमार्गको प्रगतिबारे महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रको पूर्वाधार सुदृढीकरण, सीमापार विद्युत् प्रसारण लाइनको विस्तार तथा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणका कार्यहरू पनि एजेन्डामा समेटिएका छन्।
विकास आयोजनाको समीक्षा गरिने
भारतीय सहयोगमा नेपालमा सञ्चालित तथा निर्माणाधीन विकास आयोजनाहरूको विस्तृत समीक्षा यस भ्रमणको अर्को महत्त्वपूर्ण पाटो हो।विशेषगरी सम्पन्न भइसकेका नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानलगायतका परियोजनाहरूको उद्घाटन तथा हस्तान्तरण गर्ने विषयमा सहमति जुटनेछ भने निर्माणाधीन आयोजनालाई तीव्रता दिने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
यसका अतिरिक्त, पर्यटन प्रवर्द्धन, जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने, सीमापार डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउने तथा विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग बढाउने विषयमा समेत द्विपक्षीय वार्ता हुनेछ।















