प्रधानमन्त्री बालेन आइतबार १:४५ बजे भारत उड्दै, को–को जाँदैछन् साथमा ?
काठमाडौँ। प्रधानमन्त्री बालेन शाह आगामी आइतबार (मंसिर ६ गते) भारतको राजकीय भ्रमणमा प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलन (प्रेस ब्रिफिङ) मार्फत प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्लीतर्फ प्रस्थान गर्नेछन्। प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकार लगायतका अधिकारीहरू सहभागी हुने जनाइएको छ।
परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य रहने बताए । सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रको तर्फबाट ५२ सदस्यीय टोली पनि भारत भ्रमणमा जानेछ। निजी क्षेत्रका प्रतिनिधि तथा केही सञ्चारकर्मीहरू आ–आफ्नै खर्चमा भ्रमण टोलीमा सामेल हुन लागेको मन्त्रालयले स्पष्ट पारेको छ।
व्यवसायीको टोलीमा उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठसहित पूर्व तथा वर्तमान पदाधिकारी,नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग व्यापार महासंघ, नेपाल-भारत चेम्बर अफ कमर्श लगायतका प्रतिनिधीहरु रहेका छन् ।
















