३५ सदस्यीय नेपाली टोलीसहित भारत उडे प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्लीतर्फ उडेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन्।
पदभार सम्हालेपछिको यो उनको पहिलो द्विपक्षीय विदेश यात्रा हो । यसअघि अमेरिका जाँदा अपनाएकै शैली पछ्याउँदै प्रधानमन्त्री शाह विमानस्थल प्रवेश गरेलगत्तै कुनै औपचारिक तामझामबिना सीधै जहाज चढेका थिए । उनलाई बिदाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेल विमानस्थलको धावनमार्ग (रन–वे) सम्मै पुगेका थिए ।
भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको स्वागतका लागि भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद उपस्थित हुने तय भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, समकक्षी नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकर लगायतका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका रहेको छ । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि नै स्वदेश फर्किने कार्यक्रम छ ।















