१,२४० किमी रेन्ज दिने चेरीको अफरोड एसयूभी आइकार भी२५ चीनमा बिक्री सुरू, छिट्टै नेपाल भित्रिने
काठमाडौँ । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरीको अफरोड सवारीसाधन ब्रान्ड ‘आइकार’ (अन्तर्राष्ट्रिय बजारमा ‘आइकउर’ – iCAUR) ले आफ्नो नयाँ एसयूभी ‘आइकार भी२५’ (iCAR V25) चीनमा बिक्री सुरू गरेको छ। मस्कुलर र बक्सी डिजाइनमा तयार पारिएको यो शक्तिशाली एसयूभी चाँडै नेपाली बजारमा समेत भित्रिने तयारीमा छ।
कम्पनीका अनुसार भी२५ को मुख्य विशेषता यसको उच्च रेन्ज र पावर हो। रेन्ज एक्सटेन्डर प्रविधिमा आधारित यस गाडीमा ३३.६७ किलोवाट आवरको एलएफपी ब्याट्री र १.५ लिटरको टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ।
एकपटकको फुल चार्ज र फुल ट्याङ्की इन्धनमा यस गाडीले १,२४० किलोमिटरसम्मको संयुक्त रेन्ज दिने कम्पनीले दाबी गरेको छ। जसमध्ये विशुद्ध विद्युतीय (प्योर ईभी) रेन्ज मात्र २१० किलोमिटर रहेको छ। लामो दूरीको यात्रामा चार्जिङ स्टेसनको झन्झट कम गर्ने उद्देश्यले ल्याइएको यो गाडी फास्ट चार्जरको मद्दतले मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
पर्फर्मेन्सको हिसाबले पनि यो गाडी निकै शक्तिशाली छ। यसको अल-ह्वील ड्राइभ भेरियन्टले जम्मा ५ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। साथै, १९७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालका पहाडी, कच्ची तथा उबडखाबड सडकका लागि यो एसयूभी निकै उपयुक्त मानिएको छ।
प्रविधि र सुरक्षाका दृष्टिले गाडीको इन्टेरियरमा १५.४ इन्चको ठूलो टचस्क्रिन र स्न्यापड्रागन चिप प्रयोग गरिएको छ। अटोपाइलट तथा ड्राइभर असिस्टेन्स सुविधाका लागि गाडीमा लाइडारसहित २७ वटा सेन्सरहरू जडान गरिएका छन्।
चिनियाँ बजारमा यसको सुरुवाती मूल्य १७ हजार ९०० अमेरिकी डलर (करिब १ लाख २९ हजार ८०० युआन) तोकिएको छ। नेपालका लागि आइकार ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले भी२३ पछि अब नयाँ भी२५ (र भी२७) मोडेल पनि नेपाली बजारमा भित्र्याउने छ।















