६ मंसिर २०८३, आइतबार

मारुती सुजुकीले आजैदेखि भारतमा बढायो गाडीको मूल्य, नेपालमा कहिले?



लागत न्यूनीकरणका निरन्तर प्रयासका बाबजुद उत्पादन खर्चको दबाब थेग्न नसकेपछि मारुती सुजुकी इन्डियाले आजै (मङ्सिर ७) देखि लागु हुने गरी छानिएका मोडलका गाडीको मूल्य औसत ०.३१ प्रतिशतले बढाएको छ ।

काठमाडाैँ । उत्पादन लागतमा परेको निरन्तरको दबाबका कारण मारुती सुजुकी इन्डियाले आइतबारदेखि लागु हुने गरी आफ्ना छानिएका मोडलका सवारीसाधनको मूल्य बढाएको छ ।

लागत घटाउन विभिन्न प्रयास गरिए पनि खर्चको भार बढ्दै गएपछि कम्पनीले मूल्यवृद्धिको यो निर्णय लिएको हो । ग्राहकलाई पर्ने आर्थिक भार सकेसम्म कम गर्दै बढेको लागतको केही हिस्सा बजारमा सार्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले नियामक निकाय (एक्सचेन्ज फाइलिङ) मा पेस गरेको विवरणमा निरन्तरको लागत दबाबलाई ध्यानमा राख्दै सन् २०२६ नोभेम्बर २२ देखि लागु हुने गरी छानिएका मोडलको मूल्य बढाउने निर्णय गरिएको उल्लेख छ । यसरी गरिएको मूल्यवृद्धि सवारी बिक्रीको अनुपातका आधारमा औसत करिब ०.३१ प्रतिशत रहेको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्ष २०२७ को पहिलो अर्धवार्षिक अवधिमा तीन चरणमा गरी एक प्रतिशतभन्दा केही बढीले मूल्य बढाएको मारुती सुजुकीले पुनः मूल्य समायोजन गरेको हो ।

पश्चिम एसियाको द्वन्द्वको असर

त्रैमासिक रूपमा सवारीसाधन बिक्रीमा कीर्तिमान कायम गर्दै कुल आम्दानीमा उल्लेख्य वृद्धि गरे पनि दोस्रो त्रैमासिकमा मारुती सुजुकीको एकीकृत खुद नाफा २६.३६ प्रतिशतले घटेर २ हजार ४ सय ६६ दशमलव १ करोड भारतीय रुपैयाँमा सीमित भएको छ ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा पदार्थ तथा उत्पादन लागत महँगिएपछि कम्पनीको आम्दानीमा दबाब परेको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको सञ्चालन मुनाफा (अपरेटिङ इबिटडा) १२.७ प्रतिशतबाट घटेर ९.४ प्रतिशतमा झरेको छ ।

गाडीको बिक्री मूल्य र परिमाणमा भएको वृद्धि कम्पनीका लागि सकारात्मक पक्ष रहे पनि प्रतिकूल लागत खर्चले ती उपलब्धिहरूलाई आंशिक रूपमा ओझेलमा पारेको देखिएको छ ।

खर्च कटौती र आगामी लक्ष्य

कम्पनीले बजारीकरण (मार्केटिङ) खर्चमा कटौती गर्दै आन्तरिक लागत नियन्त्रणका उपायहरूसमेत अपनाएको छ । दोस्रो त्रैमासिकको लगानीकर्ता सम्मेलन (इन्भेस्टर कल) मा कम्पनी व्यवस्थापनले आर्थिक वर्षको दोस्रो अर्धवार्षिकमा सन्तुलित रूपमा मूल्य समायोजन गरिने सङ्केत दिएको थियो ।

गत वर्षको उच्च बिक्री आधारका बाबजुद चालु आर्थिक वर्षको दोस्रो अर्धवार्षिकमा सवारी बिक्री परिमाणमा दोहोरो अङ्कको वृद्धि हासिल गर्ने लक्ष्य कम्पनीले राखेको छ । चाडपर्वको उच्च माग, पुराना अर्डरहरूको बलियो चाप र डिलरहरूसँग रहेको सन्तुलित मौज्दातले यो लक्ष्य प्राप्तिमा सघाउने कम्पनीको अपेक्षा छ ।

गत अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीको आन्तरिक सवारी आपूर्ति (डोमेस्टिक डिस्प्याच) ३१.६ प्रतिशतले बढेर ११ लाख ४६ हजार थान पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा, विशेष गरी अगस्ट र सेप्टेम्बर महिनामा बिक्रीको आधार न्यून रहेकाले अहिलेको वृद्धिदर उच्च देखिएको कम्पनीले स्पष्ट पारेको छ ।