झिनो अंकले बढ्यो नेप्से, कारोबारमा देखिएन सुधार
काठमाडौँ । सोमबार शेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले सुधार देखिएको छ। यसअघिको कारोबार दिन अर्थात् शुक्रबार सामान्य गिरावट आएको नेप्से परिसूचक सोमबार भने थोरै अंकले उकालो लागेर बन्द भएको हो।
कारोबार अवधि सकिँदा नेप्से परिसूचक २.२६ अंकले बढेर २,६२३.५६ विन्दुमा अडिएको छ। परिसूचकमा सामान्य सुधार देखिए पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही खुम्चिएको छ।
कुल १३ उपसमूहमध्ये चारवटाको परिसूचक बढ्दा नौवटा उपसमूह रातो देखिए। बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूहमा सामान्य वृद्धि हुँदा निर्जीवन बीमा उपसमूह सर्वाधिक ०.९६ प्रतिशतले घटेको छ।
शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा सोमबार ३६० वटा कम्पनीका शेयर ४२ हजार ८५४ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा कुल १ करोड ८ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
सोमबारको बजारमा मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको शेयरमूल्य १०.५८ प्रतिशतले बढेको छ। त्यसैगरी माउन्टेन हाइड्रोको मूल्य साढे ५ प्रतिशतभन्दा बढी र बुंगल हाइड्रोको मूल्य झन्डै साढे ५ प्रतिशतले उक्लिएको छ।
अर्कोतर्फ, भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ८.३३ प्रतिशतले ओरालो लागेको छ। कारोबार रकमका हिसाबले ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो, जसको १५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।















