नेपालमा खाेल्ने भनिएकाे आईआईटीको ‘अफ–सोर’ क्याम्पस के हाे ?
काठमाडाैँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को ‘अफ–सोर’ क्याम्पस स्थापना गर्ने विषय समेटिएपछि उच्च शिक्षा र प्रविधि क्षेत्रमा यसको स्वरूपबारे चासो बढेको छ।
संयुक्त वक्तव्यमा उल्लेख छ- “नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धि सहयोगको विस्तारस्वरूप भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को ‘अफ–सोर’ क्याम्पस स्थापना गर्ने विषयमा दुई नेताहरू सहमत हुनुभयो।”
शिक्षा क्षेत्रमा उत्प्रेरक बन्ने र रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने बताइएको यो अवधारणा व्यवहारमा कस्तो हुन्छ भन्ने विषयलाई शिक्षाविद् तथा सरोकारवालाले नजिकबाट नियालिरहेका छन्।
के हो ‘अफ–सोर’ क्याम्पस?
अन्तर्राष्ट्रिय उच्च शिक्षाको सन्दर्भमा ‘अफ–सोर’ क्याम्पस भन्नाले कुनै विश्वविद्यालय वा शैक्षिक संस्थाले आफ्नो मूल देशभन्दा बाहिर अर्को मुलुकमा स्थापना र सञ्चालन गर्ने शाखा वा परिसरलाई बुझिन्छ। यस्तो क्याम्पसमा मुख्य संस्थाकै शैक्षिक मानक, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली वा उपाधि प्रदान गर्ने व्यवस्था मिलाइएको हुन्छ।
प्रायः दुई देशका सरकार, विश्वविद्यालय वा सम्बन्धित नियामक निकायबीचको समझदारी, द्विपक्षीय सहमति वा कानुनी व्यवस्थाअनुसार यस्ता क्याम्पस खोलिन्छन्।
यसले विद्यार्थीहरूलाई आफ्नै देश वा नजिकको भूगोलमै बसेर विदेशी प्रतिष्ठित संस्थाको शिक्षा हासिल गर्ने अवसर दिन्छ, जसले विदेश अध्ययनमा जाने खर्च र प्रक्रियालाई सहज बनाउन सघाउँछ।
स्वरूप र सञ्चालन प्रक्रिया
अफ–सोर क्याम्पसको स्वरूप सबै ठाउँमा एउटै हुँदैन । बरू यो सम्बन्धित देशको उच्च शिक्षा नीति तथा साझेदारीको ढाँचामा निर्भर रहन्छ। कतिपय अवस्थामा मूल संस्थाले प्रत्यक्ष रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्छ भने कतिपय अवस्थामा स्थानीय विश्वविद्यालय, संस्था वा साझेदार निकायसँगको सहकार्यमा कार्यक्रम चलाइन्छ।
सञ्चालनका क्रममा पाठ्यक्रमको गुणस्तर, प्राध्यापकको योग्यता, प्रयोगशाला तथा पुस्तकालयजस्ता पूर्वाधार, छात्रवृत्ति र शुल्क संरचना जस्ता विषयहरू स्पष्ट सम्झौतामार्फत तय गरिन्छन्।
शैक्षिक उपाधि दिँदा मूल संस्थाले नै दिने कि संयुक्त वा स्थानीय मान्यताप्राप्त हुने भन्ने कुरा पनि सम्बन्धित देशको कानुन र सम्झौताको प्रकृतिले निर्धारण गर्छ।
आईआईटी के हो ?

भारतीय प्रविधि (प्राैद्याेगिकी) संस्थान अर्थात् आईआईटी भारतका अग्रणी सार्वजनिक प्राविधिक तथा इन्जिनियरिङ उच्च शिक्षा संस्थाहरूको समूह हो। इन्जिनियरिङ, विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा आईआईटीले भारतमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि बलियो पहिचान बनाएको छ।
विश्वभरका ठूला प्रविधि कम्पनी, अनुसन्धान केन्द्र र शैक्षिक संस्थाहरूमा आईआईटीका पूर्वविद्यार्थीहरू कार्यरत रहेकाले यसको नामलाई प्राविधिक दक्षता र कडा शैक्षिक प्रतिस्पर्धाको प्रतीकका रूपमा लिइन्छ।
यही प्रतिष्ठाका कारण आईआईटीका कार्यक्रम र सम्भावित विस्तारप्रति विद्यार्थी र अभिभावकको आकर्षण देखिँदै आएको छ।
वैश्विक विश्वविद्यालयहरूकाे श्रेणी (र्याङकङि) मा आईआईटी दिल्ली सबैभन्दा अगाडी छ । याे विश्वकाे १२३ औँ उत्कृष्ठ शैक्षिक प्रतिष्ठान हाे । त्यसपछि आईआईटी बम्बे १२९ औँ स्थानमा छ । इञ्जिनियरिङ र प्रविधिकाे मात्रै कुरा गर्ने हाे भने आईआईटी दिल्ली ३६ औँ र बम्बे ४२ औँ स्थानमा पर्छन् ।
भारतकाे सबैभन्दा पहिलाे र सबैभन्दा ठूलाे आईआईटी पश्चिम बंगालकाे खरागपुरमा छ । वैश्विक श्रेणिमा याे आईआईटी मद्रासभन्दा पछाडी अाउँछ । तर अहिले भारतमा यस्ता २३ वटा आईआईटीहरू छन् । त्यसमध्ये नेपालमा कुन संस्थाकाे अफसाेर क्याम्पस खाेल्ने हाे भन्ने चाहीँ स्पष्ट भइसकेकाे छैन ।
अफ–सोर क्याम्पसका अभ्यास
पछिल्ला वर्षहरूमा भारतले आफ्ना प्रतिष्ठित प्राविधिक संस्थाहरूको उपस्थिति विदेशमा विस्तार गर्ने नीतिलाई प्राथमिकता दिँदै आएको छ। यसै क्रममा भारतले आईआईटीका अन्तर्राष्ट्रिय क्याम्पसहरू स्थापना गर्ने पहल अघि बढाएको छ । जसअन्तर्गत तान्जानियाको जान्जीबारमा आईआईटी मद्रासको क्याम्पस छ भने संयुक्त अरब इमिरेट्स (यूएइ) को अबुधाबीमा आईआईटी दिल्लीको क्याम्पस स्थापना गरिएकाे छ ।
विश्वव्यापी रूपमा हेर्दा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूले अन्य मुलुकमा शाखा क्याम्पस खोल्ने अभ्यास लामो समयदेखि चलिआएको छ। कतिपय देशहरूले विदेशी विश्वविद्यालयका क्याम्पसलाई आफ्ना कानुन, गुणस्तर मापदण्ड र नियमनको दायराभित्र समेटेर सञ्चालनमा ल्याएका छन् भने कतिपय स्थानमा पूर्वाधार, स्वायत्तता र गुणस्तर नियन्त्रणलाई लिएर नीतिगत बहस पनि हुने गरेका छन्।
नेपाल र भारतको सन्दर्भ
नेपाल र भारतबीच शिक्षा, छात्रवृत्ति र प्राविधिक क्षमता विकासमा लामो समयदेखि सहकार्य हुँदै आएको छ। नेपाली विद्यार्थीहरू भारतका विभिन्न विश्वविद्यालय र प्राविधिक संस्थाहरूमा अध्ययन गर्न जाने क्रम पुरानो हो र भारत सरकारले विभिन्न शैक्षिक तथा तालिम कार्यक्रममार्फत सहयोग उपलब्ध गराउँदै आएको छ।
यद्यपि, नेपालको उच्च शिक्षा प्रणालीमा विदेशी विश्वविद्यालय वा प्रतिष्ठित संस्थाका शाखा तथा क्याम्पस सञ्चालन गर्ने विषय संवेदनशील र नीतिगत रूपमै स्पष्ट व्यवस्था चाहिने विषय मानिन्छ।
त्यसैले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा आएको आईआईटीको अफ–सोर क्याम्पसको सहमतिले अब यसको कानुनी, संस्थागत र व्यावहारिक मोडालिटी कस्तो बन्छ भन्नेतर्फ सबैको ध्यान तानेको छ।















