८ मंसिर २०८३, मंगलबार

लिलामीमा नबिकेपछि बैंककै नाममा थुप्रिए ऋणीका धितो, एकै वर्षमा थपियो ५ अर्बभन्दा बढीको सम्पत्ति



ऋणीले साँवा-ब्याज तिर्न नसक्दा र धितो राखेको घरजग्गा लिलामीमा समेत नबिक्दा वाणिज्य बैंकहरूसँग झन्डै साढे ४८ अर्ब रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिन पुगेको छ।

काठमाडाैँ । ऋणीहरूबाट खराब कर्जा असुली सुस्त बन्दै जाँदा वाणिज्य बैंकहरूमा घरजग्गा लगायतका ‘गैरबैंकिङ सम्पत्ति’ (नन-बैंकिङ एसेट्स) थुप्रिने क्रम तीव्र देखिएको छ। एकातिर बजारमा ऋणको माग सुस्त हुँदा बैंकहरूमा लगानीयोग्य रकम (अधिक तरलता) थुप्रिएको छ भने अर्कोतिर पुरानो ऋण उठाउन नसकेर ऋणीको धितो आफैँले सकार्नुपर्दा बैंकहरूको वित्तीय स्वास्थ्यमा दोहोरो दबाब पर्न थालेको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको तथ्याङ्कले वाणिज्य बैंकहरूमा ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको देखाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिसम्म बैंकहरूसँग ४३ अर्ब २४ करोड ३३ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति थियो। एक वर्षको अन्तरालमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति १२ दशमलव ११ प्रतिशत अर्थात् ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँले बढेको हो।

के हो गैरबैंकिङ सम्पत्ति ?

बैंकिङ भाषामा गैरबैंकिङ सम्पत्ति भन्नाले ऋणीले समयमै साँवा र ब्याज तिर्न नसकेपछि बैंकले लिलामी प्रक्रियामार्फत बिक्री गर्न खोज्दा नबिकेर आफ्नै नाममा सकारेको धितो (मुख्यतः घरजग्गा) लाई बुझिन्छ।

यसलाई सरल भाषामा बुझ्दा, कुनै व्यक्तिले घरजग्गा धितो राखेर बैंकबाट ऋण लियो तर व्यापार वा आम्दानी बिग्रिएर किस्ता तिर्न सकेन भने बैंकले उक्त धितो लिलामीमा निकाल्छ। देशको घरजग्गा कारोबार सुस्ताएको अहिलेको अवस्थामा लिलामीमा कसैले किन्न नआएपछि बैंक बाध्य भएर आफैँले त्यो सम्पत्ति सकार्छ।

बैंकिङ विश्लेषकहरूका अनुसार बैंकको मुख्य काम निक्षेप सङ्कलन गर्ने र ब्याज आउने ठाउँमा नगद लगानी गर्ने हो, घरजग्गा किनेर राख्ने होइन। जब बैंकको नगद घरजग्गाजस्तो स्थिर सम्पत्तिमा फस्छ, तब त्यसबाट तत्काल ब्याज आम्दानी हुँदैन।

उल्टै राष्ट्र बैंकको नियमअनुसार यस्तो सम्पत्तिको शतप्रतिशत जोखिम व्यवस्था (प्रोभिजनिङ) गर्नुपर्ने हुँदा बैंकहरूको नाफामा सीधा गिरावट आउँछ र लाभांश दिने क्षमतासमेत खुम्चिन्छ।

कुन बैंकको अवस्था कस्तो ?

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक बाँकी १९ वटै बैंकमा यस्तो सम्पत्ति देखिएको छ। स्ट्यान्डर्ड चार्टर्डको गैरबैंकिङ सम्पत्ति शून्य छ। अघिल्लो वर्षको असोजको तुलनामा समीक्षा अवधिमा १४ वटा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ५ वटा बैंकले यस्तो सम्पत्ति घटाउन सफल भएका छन्।

रकमका आधारमा हेर्दा हिमालयन बैंकमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। चालु आर्थिक वर्षको असोजसम्म हिमालयन बैंकसँग ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ, जुन अघिल्लो वर्षको ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँको तुलनामा ७ दशमलव ४० प्रतिशतले बढी हो।

दोस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ५ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ। अघिल्लो वर्ष ३ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ रहेको यस बैंकको गैरबैंकिङ सम्पत्ति एकै वर्षमा ५० दशमलव ९४ प्रतिशतले उकालो लागेको हो।

तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ति २९ दशमलव ११ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष प्राइम बैंकमा ४ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो।

वृद्धिदरका हिसाबले भने प्रभु बैंकमा सबैभन्दा ठूलो उछाल देखिएको छ। अघिल्लो वर्षको असोजमा १ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ रहेको प्रभु बैंकको गैरबैंकिङ सम्पत्ति ८१ दशमलव १७ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यस्तै, नेपाल एसबीआई बैंकको ४१ दशमलव १५ प्रतिशतले बढेर १ अर्ब ३४ करोड १६ लाख, नेपाल बैंकको ३६ दशमलव ५५ प्रतिशतले बढेर ३६ करोड ८ लाख र सिटिजन्स बैंकको ३६ दशमलव २३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

सानिमा बैंकको २६ दशमलव ७६ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ६९ लाख, सिद्धार्थ बैंकको १७ दशमलव ४८ प्रतिशतले बढेर ९० करोड ७० लाख र कृषि विकास बैंकको १० दशमलव २२ प्रतिशतले बढेर १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ।

यसैगरी, माछापुच्छ्रे बैंकको ८ दशमलव ७२ प्रतिशतले बढेर ६५ करोड ३१ लाख, लक्ष्मी सनराइज बैंकको ८ दशमलव ११ प्रतिशतले बढेर २ अर्ब ३७ करोड ४५ लाख र एनएमबी बैंकको ६ दशमलव ४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति कायम भएको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा कम अर्थात् २७ करोड ७३ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ, जुन अघिल्लो वर्षको २५ करोड ६७ लाख रुपैयाँको तुलनामा ८ दशमलव ०३ प्रतिशतले बढी हो।

पाँच बैंकले घटाए

समग्र बैंकिङ प्रणालीमा गैरबैंकिङ सम्पत्ति थुप्रिरहँदा पाँचवटा वाणिज्य बैंकले भने लिलामी सकारेको सम्पत्ति बिक्री गरेर वा ऋणीसँगको सहमतिमा फर्छ्योट गरेर घटाउन सफल भएका छन्।

सबैभन्दा बढी कुमारी बैंकले १५ दशमलव ८५ प्रतिशतले यस्तो सम्पत्ति घटाएको छ। अघिल्लो वर्ष २ अर्ब ५२ करोड ११ लाख रुपैयाँ रहेको कुमारीको गैरबैंकिङ सम्पत्ति चालु वर्षको असोजमा २ अर्ब १२ करोड १६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको असोजमा ६ अर्ब ५ करोड ६० लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ९ दशमलव ५८ प्रतिशतले घटाउँदै ५ अर्ब ४७ करोड ६१ लाख रुपैयाँमा सीमित गरेको छ।

यस्तै, एभरेस्ट बैंकले ७ दशमलव ९१ प्रतिशतले घटाएर ४९ करोड ५९ लाख, एनआईसी एसिया बैंकले ७ दशमलव ८९ प्रतिशतले घटाएर ४ अर्ब १० करोड ८५ लाख र नबिल बैंकले ७ दशमलव ८६ प्रतिशतले घटाएर ३ अर्ब १८ करोड ५५ लाख रुपैयाँमा झारेका छन्। घरजग्गा बजार चलायमान नहुँदासम्म बैंकहरूलाई यस्ता सम्पत्ति बिक्री गरेर नगदमा रूपान्तरण गर्न अझै केही समय चुनौतीपूर्ण नै देखिएको छ।