८ मंसिर २०८३, मंगलबार

बुढानीलकण्ठमा बन्दै ‘आइबिस स्टाइल्स’ होटल, एक्कोरसँग सम्झौता



काठमाडौँ। नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार गर्ने क्रममा होटल व्यवसायी तथा होटल सब्रिना लिमिटेडका अध्यक्ष निराजन थापाले विश्वप्रसिद्ध होटल समूह एक्कोरसँग अर्को महत्वपूर्ण साझेदारी गरेका छन्।

निराजन थापा र एक्कोर समूहअन्तर्गतको एएपीसी इन्डिया होटल म्यानेजमेन्ट कम्पनी प्रालिबीच काठमाडौंको बुढानीलकण्ठमा ९२ कोठाको प्रस्तावित आइबिस स्टाइल्स होटल विकास तथा व्यवस्थापनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

यो साझेदारी थापाको एक्कोर समूहसँगको बढ्दो सहकार्यको अर्को महत्वपूर्ण उपलब्धि हो। यसअघि नै उनको नेतृत्वमा होटल सब्रिना लिमिटेड अन्तर्गत एक्कोर को प्रिमियम लाइफस्टाइल ब्रान्ड ट्राइब काठमाडौं परियोजना अघि बढिरहेको छ।

१०१ कोठाको प्रस्तावित ट्राइब काठमाडौं होटलमा क्यासिनोसहित विभिन्न आधुनिक आतिथ्य तथा लाइफस्टाइल सुविधाहरू रहनेछन्। उक्त परियोजना सन् २०२७ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

ट्राइब काठमाडौं र प्रस्तावित आइबिस स्टाइल्स परियोजनासँगै निराजन थापाको नेतृत्वमा एक्कोर समूहका दुई फरक अन्तर्राष्ट्रिय होटल ब्रान्ड काठमाडौंमा विस्तार हुने दिशामा अघि बढेका छन्। यी परियोजनाले नेपालको पर्यटन तथा होटल क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै रोजगारी, लगानी र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।