१० मंसिर २०८३, बिहिबार

३० हजार मेगावाटको लक्ष्य पूरा गर्न नयाँ ‘ऊर्जा मिश्रण’ नीति बनाउने तयारीमा सरकार



काठमाडौँ। आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य हासिल गर्न सरकारले नयाँ ऊर्जा मिश्रणको खाका तयार पार्न थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्सँगै सौर्य, वायु र अन्य वैकल्पिक स्रोतको स्पष्ट अनुपात तोक्ने गरी नीतिगत गृहकार्य अघि बढाएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठको निजी सचिवालयका अनुसार ऊर्जा मिश्रण ढाँचा बनेसँगै लामो समयदेखि अवरुद्ध विद्युत् खरिद सम्झौता (पीपीए) को बाटो खुल्नेछ । आगामी १० वर्षमा कुन प्रकृतिका कति आयोजना निर्माण गर्ने भन्ने स्पष्ट मार्गचित्र यसै ढाँचाले तय गर्ने मन्त्रालयको भनाइ छ ।

हाल नेपालको कुल जडित विद्युत् क्षमता ४ हजार २ सय मेगावाट रहेकोमा अधिकांश हिस्सा नदी प्रवाही (आरओआर) आयोजनामा निर्भर छ । यस्ता आयोजनाबाट बर्खामा धेरै र हिउँदमा न्यून बिजुली उत्पादन हुने हुँदा हिउँदे माग धान्न भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।

यो मौसमी असन्तुलन हटाउन मन्त्रालयले अब जलाशययुक्त, पम्प स्टोरेज, अर्धजलाशययुक्त, सौर्य र वायु ऊर्जालाई प्राथमिकतामा राखेर अनुपात निर्धारण गर्दैछ। यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । सरकारले अहिले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो अनुपातले दीर्घकालीन आवश्यकता पूरा गर्न नसक्ने निष्कर्षसहित नयाँ ढाँचा बनाउन लागिएको हो ।

सन् २०१६ मा जारी ऊर्जा सङ्कट निवारण नीति र २०७९ असारको मन्त्रिपरिषद् निर्णयपछि पनि समयानुकूल परिमार्जन हुँदै आएको ऊर्जा मिश्रणलाई अब ३० हजार मेगावाटको लक्ष्यअनुसार ढालिँदैछ ।

१६ हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा

गत आर्थिक वर्षको बजेटमा नदी प्रवाही आयोजनाका लागि ‘टेक एन्ड पे’ (लिएर मात्र तिर्ने) नीति ल्याइएपछि नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता प्रभावित बनेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हालसम्म विभिन्न प्रकृतिका ४५६ आयोजनासँग करिब ११ हजार ४० मेगावाट बराबरको पीपीए भइसकेको छ । तर, थप २८१ आयोजनाको १६ हजार ४ सय २५ दशमलव ७७ मेगावाट विद्युत् अझै पीपीएको पर्खाइमा छ ।

पीपीए नहुँदा बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन नसकेर प्रवर्द्धकहरू समस्यामा छन् । नयाँ ढाँचा लागू भएपछि प्राधिकरणले आवश्यकताका आधारमा पीपीए खुलाउने र यसले निजी क्षेत्रको लगानी तथा रोजगारी सिर्जनामा मद्दत पुग्ने अपेक्षा छ ।

यद्यपि, ३० हजार मेगावाटको लक्ष्य भेटाउन उत्पादन बढाएर मात्र पुग्दैन । आन्तरिक खपत वृद्धि, प्रसारण लाइन विस्तार तथा भारत र बङ्गलादेशजस्ता क्षेत्रीय बजारमा विद्युत् निर्यातको सुनिश्चितता गर्न सके मात्र सन्तुलित ऊर्जा मिश्रणबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न सक्नेछ ।