९ मंसिर २०८३, बुधबार

अर्थतन्त्रको झन्डै आधा हिस्सा बराबर पुग्यो सार्वजनिक ऋण, २९ खर्ब ७५ अर्ब नाघ्यो



काठमाडौँ । मुलुकको अर्थतन्त्रको विस्तार सुस्त भइरहँदा सरकारको ऋणको भार भने तीव्र गतिमा उकालो लागिरहेको छ । आन्तरिक स्रोत परिचालन कमजोर बन्दा र साधारण खर्च धान्नसमेत ऋणमै भर पर्नुपर्ने बाध्यताका कारण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सँग सार्वजनिक ऋणको अनुपात निरन्तर बढ्दै गएर अर्थतन्त्रको झन्डै आधा हिस्सा बराबर पुग्न थालेको हो ।

बजेट घाटा पूर्ति गर्न आन्तरिक तथा बाह्य ऋण उठाउने क्रम नरोकिँदा दीर्घकालीन रूपमा मुलुकमाथि साँवा र ब्याज भुक्तानीको दबाब थपिँदै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक)सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैँया पुगेको छ । यो रकम मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा ४५.०८ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेको थियो । तर, कात्तिक मसान्तसम्म आइपुग्दा विदेशी विनिमय दरमा भएको सकारात्मक परिवर्तन (नाफा) का कारण ऋण दायित्व केही घटेर उक्त विन्दुमा कायम भएको हो ।

कार्यालयको तथ्याङ्कअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । जसअनुसार कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख र आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैँया पुगेको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा पहिलो चौमासिकसम्म वार्षिक लक्ष्यको २३.३७ प्रतिशत अर्थात् १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त गरेको छ।

कुल लक्ष्यमध्ये आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड सात लाख उठाउने योजना सरकारको छ। कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ ३०.४९ प्रतिशत प्रगति हासिल गर्दै १ खर्ब २५ अर्ब प्राप्त भएको छ भने वैदेशिक ऋणतर्फ ११.६२ प्रतिशत प्रगतिसहित २८ अर्ब ८४ करोड मात्र भित्रिएको छ।

यस अवधिमा प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ। वार्षिक लक्ष्य पूरा गर्न अब सरकारले आन्तरिकतर्फ २ खर्ब ८५ अर्ब र वैदेशिकतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख गरी कुल रु ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख ऋण परिचालन गर्न बाँकी छ ।

साँवा तथा ब्याज भुक्तानीको अवस्था कस्तो छ ?

सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब ८८ करोड बजेट विनियोजन गरेको थियो। कात्तिक मसान्तसम्ममा कुल विनियोजनको ३३.७३ प्रतिशत अर्थात् १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख भुक्तानी भइसकेको छ। कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको यो ऋण सेवा खर्च २.१४ प्रतिशत बराबर हो।

ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड बजेट छुट्याइएकोमा कात्तिक मसान्तसम्म ३६.३२ प्रतिशत अर्थात् १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख खर्च भएको छ। यसमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड (४०.६४ प्रतिशत) र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख (२३.४० प्रतिशत) बाहिरिएको छ ।

त्यसैगरी, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको ८९ अर्ब ७४ करोड ७० लाखमध्ये कात्तिक मसान्तसम्म २४.२३ प्रतिशत अर्थात् २१ अर्ब ७४ करोड ७९ लाख रुपैँया खर्च भएको छ । वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड (२४.०७ प्रतिशत) र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख (२४.९० प्रतिशत) खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।