बैंकर्स संघमा नेतृत्व हस्तान्तरण, ठूला होइन राम्रा बैंक बनाउन गभर्नरकाे सुझाव
विदेशी मुद्रा सञ्चिति र तरलता सहज भइरहेका बेला कृषि र साना–मझौला उद्यममा लगानी विस्तार गर्दै सुशासन र जनविश्वासलाई केन्द्रमा राखेर काम गर्न नियामक र बैंकरहरूले जोड दिएका छन्।
काठमाडौँ । अर्थतन्त्रमा देखिएको सुस्तता र बढ्दो निष्क्रिय कर्जाका बीच वाणिज्य बैंकहरूले आकारमा ठूलाभन्दा पनि गुणस्तर र सुशासनमा राम्रा बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल बैंकर्स संघको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नियामक निकाय र अनुभवी बैंकरहरूले वित्तीय स्थिरता तथा जनविश्वास कायम राख्न आग्रह गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले हाल बैंकिङ प्रणालीमा तरलता र विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे। उनले आगामी वर्षमा पनि नीतिगत स्थिरतालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै मौद्रिक नीतिको मर्मअनुसारका वित्तीय औजार ल्याउन बैंकहरूलाई सुझाव दिए।
गभर्नर पौडेलले बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र सीमित नभई तल्लो तहका साना व्यवसायी र सर्वसाधारणसम्म पुग्नुपर्ने बताए। कृषि तथा साना–मझौला उद्योगमा लगानी विस्तार गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो। साथै, संवादका आधारमा तर्जुमा गरिएको मौद्रिक नीतिसँगै शेयर बजार, विदेशी विनिमय र सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले स्पष्ट पारे।
सोही अवसरमा बैंकिङ क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै संघले पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई सम्मान गरेको छ। सम्मानपछि आफ्नो चार दशक लामो बैंकिङ अनुभव सुनाउँदै पौड्यालले यो उपलब्धिलाई सहकर्मी, नियामक, ग्राहक, शेयरधनी र परिवारको सामूहिक योगदानको परिणामका रूपमा व्याख्या गरे।
नेतृत्वको वास्तविक मूल्याङ्कन पद वा संस्थाको आकारले नभई अघिल्लो पुस्ताले नयाँ पुस्तालाई कस्तो संस्कार हस्तान्तरण गर्छ भन्ने कुराले निर्धारण गर्ने उनको धारणा थियो। अहिलेको आर्थिक चुनौती र निष्क्रिय कर्जालाई सुधारको अवसरका रूपमा लिन आग्रह गर्दै उनले नीतिगत तथा भूराजनीतिक अनिश्चितताबीच विवेकशीलता, नवप्रवर्तन र सुशासनको सन्तुलन मिलाउने संस्था मात्र दिगो हुने बताए।

बैंकर, सञ्चालक र नीति निर्मातालाई संस्थाको दीर्घकालीन स्वास्थ्य र समग्र अर्थतन्त्रलाई केन्द्रमा राख्न सुझाव दिँदै उनले विश्वासमा कहिल्यै सम्झौता नगर्न आह्वान गरे।
समारोहमा संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र राज रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। कृषि र साना–मझौला उद्यममा लगानी बढाउने, वित्तीय स्थिरता कायम राख्ने र डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए। बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सबै सरोकारवालासँग संवाद र सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।
यसअघि कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले नवनिर्वाचित अध्यक्ष रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल र कार्यसमितिका सदस्यहरूलाई बधाई दिएका थिए। उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूप्रति आभार प्रकट गरे।
















