काठमाडौंका यातायातमा ब्रम्हलुटः यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने ५ जना पक्राउ « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

काठमाडौंका यातायातमा ब्रम्हलुटः यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने ५ जना पक्राउ



काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्न जति कठिन छ त्योभन्दा धेरै नै भाडादरका नाममा हुने ब्रह्मलुटले यात्रुहरुलाई हैरानी दिएको छ । सरकारले सडकको अवस्था र दूरीका आधारमा भाडा निर्धारण गरेको छ तर, त्यसको कार्यान्वयन भने त्यति सन्तोषजनक हुनसकेको छैन ।

यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जना पक्राउ परेका छन् । आज शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरेका हुन् ।
चाडपर्व ( होली ) को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दाबढी भाडा लिने गरेको गुनासो आएपश्चात् ट्राफिकले सादा पोशाकमा समेत जनशक्ति परिचालित गरेको छ ।

निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्