फागु अर्थात् होली पर्वः अनेकौं शैली, रोचक किंवदन्ती « Arthapath.com
२२ फाल्गुन २०७९, सोमबार

फागु अर्थात् होली पर्वः अनेकौं शैली, रोचक किंवदन्ती



काठमाण्डौं । होली रङ्ग अबिरको पर्व हो । फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । त्यसैले यो वियज र उल्लासको पनि पर्व मानिन्छ । फागु, होली जस्ता नामसँगै यसलाई रंग र अबिरसँगै स्थानपिच्छे मनाउने फरक फरक शैलीहरु छन् भने यसको सुरुवात कसरी भयो भन्ने अनेकौं रोचक किंवदन्तीहरु पनि प्रचलित छन् ।

नेपालको पहाडी र हिमाली क्षेत्रमा सोमबार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने मंगलवार मनाइँदैछ । असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ ।

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन् । तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन् । काठमाण्डू उपत्यकासहित देशैभरिका स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दुःख दिइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाण्डौं र उपत्यकाको होली
रमाइला नेपाली पर्वहरूमध्येको एक पर्व होली यसपाली सोमबार पहाडी क्षेत्रमा मनाइएको छ र मंगलबार तराई क्षेत्रमा मनाइने छ । बालबालिका देखि वृद्धवृद्धासम्मले रमाइलो गरेर मनाउने यो पर्वको विविधता नेपालको विशेषता हो ।

वैमनस्य त्यागेर सद्भाव फैलाउने पर्व हो अहिलेको होली । तर होली खेल्न बलजफ्ती गर्ने र नचाहनेलाई जबरजस्ती रंग लगाउनेमाथि कारबाही हुने प्रहरीले जनाएको छ । काठमाण्डौंको ठाउँठाउँमा साङ्गीतिक कार्यत्रम समेत गरी आयोजना गरिएको होली पर्वमा नागरिकहरु गीत, संगितसहित नृत्यमा रमाउँदै छन् ।

टोल टोलमा मात्रै नभई कुनै विशेषस्थानलाई नै भाडामा लिएर सामुहीक रूपमा होली मनाउने प्रचलन पनि नयाँ होलीको विशेषता हो । काठमाण्डौं उपत्यकमा विभिन्न साङ्गीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइएको छ । त्यस्तै अन्य दिनको तुलनामा विशेषगरी सहरी क्षेत्रमा बढी मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा होली र फागु एकै पर्व हुन् वा भिन्न हुन् भनेर प्रश्न सोधिएको र तर्क गरिएको पनि देखिएको छ ।

पृथक मिथिलाञ्चलको फागु

यो मदनोत्सव हो । अनि यसमा मानिसहरु मदमत्त हुन्छन् । वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ ।

फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ’जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ । पहिले पहिले गाउँघरमा दुध र मसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे ।

होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो । भाङलाई अहिले मदिराले विस्थापित गरेको छ । तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।

होलीमा रमाउँदै विदेशीहरू

फागुपुर्णिमा अर्थात् होलीको अवसरमा नेपालीहरु मत्र होइनन्, विदेशीहरु पनि खुलेर होलीको उत्सवमा होमिएका छन् । आफैँमा विशिष्ट रहेको फागुपर्व नेपालमा घुम्न आउने हजारौं विदेशी पर्यटकहरुका लागि उल्लासमय बनिरहेको राजधानी काठमाण्डौं, पोखरा र आसपासमा देख्न सकिन्छ ।

होलीको अवसरमा विदेशीहरु नेपाल आउने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई रङमा रंग्याउन काठमाण्डौंको वसन्तपुर, ठमेल मात्र होइन, पोखरामा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । अघिल्ला वर्षझैँ विदेशी तथा स्वदेशी पर्यटकलाई खानासँगै रङको स्वाद चखाउन होटल तथा रेस्टुरेन्टका आ–आफ्नै योजना छन् ।

पोखरामा हरेक वर्ष होली भव्य हुने गर्छ । होली विशेष कार्यक्रममा विदेशीले फेस पेन्ट, रङ तथा पानीमा छ्यापाछ्याप गर्ने दृश्य रमाइला लाग्छन् । हातमा अबीरका पोका बोकेर विदेशीसमेत नेपालीसँगै बाटोमा होली खेलिरहेको यहाँ देख्न सकिन्छ ।

होलीसँगै ¥याफ्टिङमा हेलिँदै युवा पुस्ता

होलीको दिनले ¥याफ्टिङ अर्थात् जलबिहारलाई पनि विशेष आकर्षण थप्ने गरेको छ । युवा पुस्ताको आकर्षणको केन्द्र नदीजन्य साहसिक पर्यटकीय क्रियाकलाप ¥याफ्टिङ बन्दै गएको छ । आजका दिन ¥याफ्टिङसँगै होलीलाई कतिपय युवायुवतीहरुले विषेश उत्सवको रुपमा उल्लासमय बनाइरहेका छन् ।

नेपाल एसोसिएन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीका अनुसार सोमबार कम्तीमा २ हजारदेखि २५ सय हाराहारी युवायुवती ¥याफ्टिङकै लागि नदीमा पुग्ने गर्छन् । ‘आजको दिन ¥याफ्टिङमा सबैभन्दा धेरै आकर्षण हुन्छ,’ उनले भने, ‘त्यसपछि यो व्यवसायको सिजन सुरु भएको पनि मानिन्छ ।’ ¥याफ्टिङमा युवाहरु साथिभाइको समूह, परिवार र कार्यालयबाट समेत जाने गर्छन् ।

आज त्रिशूली र भोटेकोशीमा युवापुस्ताको बढी भीड लाग्ने गरेको उनले जानकारी दिए । अघिल्लो वर्षहरुमा एकै दिन बढीमा ५ हजार हाराहारीमा युवाहरुले ¥याफ्टिङ गर्ने गरेको तथ्यांक थियो । यस वर्ष भने बुकिङ केही कम भएको उनले जानकारी दिए । ‘आर्थिक मन्दी हो वा अन्य कारणले हो, ¥याफ्टिङको दिन नै अग्रिम बुकिङ कम भएको छ’ उनले भने ।

उच्छृंखल हुन नदिन प्रहरी चेकिङमा कडाई

कसैको इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ । काठमाडौं प्रहरी परिसरले मर्यादित ढंगले होली मनाउन आग्रह गर्दै अघिल्लो दिन माइकिङ समेत गरेको थियो । नेपाल प्रहरी प्रधान कार्यालय नक्शालका एसएसपी दीपेन्द्र जिसीले अहिलेसम्म होली शान्तिपूर्ण रहेको र कुनै अप्रिय खबर नआएको अर्थपथलाई बताए ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न र सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रहसमेत गरेको छ । आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । पहाडी जिल्लामा आज र तराई मधेशका जिल्लाहरुमा भोलि होली खेल्ने परम्परा छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
होलीका अवसरमा नेपालका राष्ट्रपति र प्रधानमन्त्री र सातैवटै प्रदेशका मुख्यमन्त्रीहरुसहित उच्च नेताहरूले शुभकामना सन्देश दिएका छन् । होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् । उनीहरूले पनि होलीको पौराणिक र सांस्कृतिक पक्षलाई उल्लेख गर्दै यसलाई विकृतिरहित बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सन्देशमा भनेकी छन्, ‘हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्धन गर्न पर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । राष्ट्रपति भण्डारीले दिएको सन्देशमा होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन होली पर्वले योगदान पुर्याउने विश्वास उनले लिएकी छन् ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै सभामुख देवराज घिमिरेले होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।
होली पर्वको उल्लेख कुन ग्रन्थमा छ ?

संस्कृतिविद् प्राध्यापक वीणा पौड्यालका भनाइमा होली विशेषगरी हिन्दू शास्त्रहरूमा उल्लेख भएको पर्व हो । त्यसैले होली शास्त्रीय पर्व भएको उनको मत छ । ‘विभिन्न पुराणहरूमा यसको उल्लेख छ । पछि महाकाव्यहरू जस्तै महाभारत र रामायणमा पनि उल्लेख भएको पाइन्छ’, उनले भनिन् ।

‘लिङ्गपुराण, वराहपुराणमा पनि यसको उल्लेख छ । यो शास्त्रीय पर्व हो ।’ पौड्यालका भनाइमा जैमिनि ऋषिद्वारा रचित तथा मीमांसा दर्शनको आरम्भ भएकोमध्येको मानिने ‘पूर्वमीमांसासूत्र’मा पनि होलीबारे उल्लेख भएको पाइन्छ ।

स्थान र परिवेशअनुसार फरक नाम

संस्कृतिविद् प्राध्यापक वीणा पौड्याल होली पर्वलाई विभिन्न स्थानका मानिसहरूले भिन्न नाममा मनाउने र त्यसको शैली पनि केही फरक हुने बताउँछिन् । उनका भनाइमा होलीलाई कहीँ ‘होरी’ भनेर पनि चिनिन्छ ।

राईमा होली र होरी भनिने यो पर्वलाई पहाडी क्षेत्रमा फागु वा फागु पूर्णिमा भनिने उनले बताइन् । ‘यसलाई वसन्तोत्सव र मदनोत्सव पनि भन्ने चलन छ, उनी भन्छिन् । अहिले पनि विभिन्न नामबाट चिनिने होलीलाई पौराणिक शास्त्रहरूमा अझ फरक नामले उल्लेख गरिएको पौड्यालले बताइन् । ‘एउटा लामो समयसम्म कुनै पनि पर्व चलिरहँदा त्यसले फरक नाम लिँदो रहेछ’, पौड्याल भन्छिन् ।

राधा कृष्ण तथा ब्रजवासी होली खेल्दै

उनका भनाइमा पहिले होली नेपालको तराईमा बढी महत्त्वका साथ मनाइन्थ्यो । वसन्त ऋतुको सङ्केतका रूपमा समेत लिइएको यो पर्वलाई अहिले पहाडी र हिमाली भेगमा पनि व्यापक रूपमा मनाइन थालिएको पौड्यालले बताइन् । ठाउँ अनुसार ‘कुनैमा ऋतु र महिना अनुसार र कुनै कथामा जोडिएका पात्रहहरू अनुसार नाम जोडिएको’ उनको तर्क छ ।

लिङ्गपुराणमा फागुन महिनालाई ‘फाल्गुनिका’ र वराहपुराणमा ’पटवासविलासिनी’ भनिएको पाइन्छ ।

फाल्गुने पौर्णमासी च सदा बालविकासिनीज्ञेया फाल्गुनिका सा च ज्ञेया लोकर्विभूतये।।

लिङ्गपुराण अर्थात् यसले फागुन पूर्णिमाको यो पर्व बालबालिकाले खेल्ने र मानिसहरूलाई यसले विभूति (ऐश्वर्य) दिने जनाउँछ ।

फाल्गुने पौर्णिमास्यां तु पटवासविलासिनीज्ञेया सा फाल्गुनी लोके कार्या लोकसमृद्धये।। –वराहपुराण
’पटवास–विलासिनी’ को अर्थ चूर्ण वा धुलोयुक्त क्रीडा भएको पर्व हो ।

होलीबारे विष्णुका भक्त प्रह्लाद र होलिका–दहनसँग सम्बन्धित रहेका कथाहरू प्रचलित छन् । तर वसन्त ऋतु, कामदेव र राधाकृष्णका कथाहरू पनि होलीसँग जोडिएको पौड्यालले बताइन् । सनातन धर्ममा हरेक भगवान्का लागि भिन्न रङ्गको प्रयोग हुने गरेकाले पनि होली शास्त्रीय पर्व भएको उनको तर्क छ । ‘हाम्रोमा भगवान्को मात्र होइन राशि, नक्षत्र र दशाअनुसार पनि फरक रङ्ग प्रयोग हुन्छ’, उनी भन्छिन् ।

फागुमा देखिएको परिवर्तन
सात दशक पुग्न लागेकी पौड्यालको अनुभवमा पहिलेको होली र अहिलेको होलीमा फरक देखिन थालेको छ । उनले भनिन्, ‘पहिले तराईमा घरघर मिठाइ लिएर जाने रमाइलो गर्ने र रङ्ग खेल्दा पनि सकभर नयाँ र निक्खर सेतो लुगा लगाउने चलन थियो ।’

“काठमाण्डूमा चाहिँ होलीमा विकृति देखिएर म पद्मकन्या क्याम्पस पढ्दा वसन्तपुरमा ‘चीर’ गाडेपछि नै हामी बाहिर जान सक्दैन थियौँ ।’ ‘यहाँ मनोरञ्जन होइन कि त्रासको पर्वजस्तो बनेको थियो । त्यस्ता विकृतिलाई अन्त्य गर्नुपर्छ ।’ उनी वसन्तोत्सवका रूपमा मनाइने होलीको सांस्कृतिक र परम्परागत मूल्य कम हुँदै गएको ठान्छिन् ।

जातजाति र स्थानानुसार होलीमा गाइने गीतहरूको भिन्नै मौलिक महत्त्व भएकामा अहिले त्यो स्थान चलचित्रका गीतले लिएको उनी बताउँछिन् । तर होली धर्मबाट निस्किएर समाजमा मिसिएकाले त्यो सकारात्मक र राम्रो पक्ष भएको उनको बुझाइ छ ।

कहाँ कसरी मनाइन्छ होली ?
उपत्यकाको मुख्य केन्द्र वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिने जानकारहरू बताउँछन् । त्यस दिनदेखि उपत्यकामा पूर्णिमासम्म होली मनाउने चलन रहेको संस्कृतिविद्हरूको भनाइ छ ।

वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिन्छ । पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने चलन छ । ‘उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरेर लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।’
त्यस्तै पूर्णिमाकै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।

फागु पूर्णिमाकै दिन उपत्यकामा भीमसेनको पूजा गर्ने चलन पनि रहेको बताइन्छ । त्यस्तै पूर्णिमाकै दिन हिमाली क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरन ल्ह’ पर्व मनाउने गर्छन् । तराईमा भोलिपल्ट मनाइने होलीमा रङ्ग खेल्नुका साथै मौलिक गीत गाउने र व्यङ्ग्यात्मक कार्यक्रम पनि आयोजना गर्ने चलन रहेको छ ।

होलीको किंवदन्ती
फागु पूर्णिमाको चलन चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती प्रख्यात छ । उक्त किंवदन्तीअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए ।

तर प्रह्लादलाई केही नभएको होलीका जलेको कथामा उल्लेख छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । द्वापरयुगमा कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको कथासँग पनि होली जोडिने बताइन्छ ।

उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले अर्थपथलाई बताएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्