२ करोड नेपाली पढ्न र लेख्न दुबै जान्ने, ७६.२ प्रतिशतले पुग्यो साक्षरता दर
काठमाडौं । नेपालको साक्षरता दर ७६ प्रतिशत रहेको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार ५ वर्ष वा सो भन्दा माथिको उमेरका ब्यक्तिको सारक्षरता दर ७६.२ प्रतिशत रहेको जनाएको हो ।
जनगणनाको नतिजाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २,६६,७५,९७५ जनसंख्यामा २,०३,४१,६२३ जना पढ्न र लेख्न दुबै जान्ने देखाएको छ । जसमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेको छ र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।
अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरतादर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।
त्यस्तै, सबैं भन्दा बढी सारक्षता दर रहेको प्रदेशमा बागमति प्रदेश रहेको छ भने कम मधेश प्रदेश रहेको छ । बागमतिमा ८२.१ प्रतिशत, गण्डकीमा ८१.७ प्रतिशत, कोशीमा ७९.७ प्रतिशत, लम्बिनीमा ७८.१ प्रतिशत, सुदुरपश्चिममा ७६.२ प्रतिशत, कर्णालीमा ७६.१ प्रतिशत र मधेश प्रदेशमा ६३.५ प्रतिशत साक्षरता दर रहेको छ ।

सबै जिल्लाहरुमा ५५ प्रतिशत भन्दा धेरै साक्षरता दर देखिएको छ । काठमाडौ जिल्लामा सबैभन्दा वढि (८९.२३%) र रौतहट जिल्लामा सबैभन्दा कम साक्षरता दर (५७.७५%) रहेको छ । पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लामा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत रहेको छ । रौतहट जिल्लामा भने महिला र पुरुष दुवैको साक्षरता दर अन्य सबै जिल्लाहरुको भन्दा कम रहेको छ ।














