अब विदेशबाट आएको पैसा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको हो । यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफूलाई आएको रेमिटेन्स रकम यसै बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन् ।
डिजिटल कारोबारमा आम ग्राहक महानुभावहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि एनआइसी एशिया मोबाइल बैंकिङ्ग भित्रको रेमिटान्स आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र युनिक पिन राखे पश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ । यस सेवा पश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।