निर्माण व्यवसायी महासंघको आन्दोलनको स्वरुप परिवर्तन
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको निर्देशन अनुसार बुधवार ७ प्रदेश निर्माण व्यवसायी महासंघ र ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले आ—आफ्नो कार्यालयमा महासंघको नौ बुँदे माग सहितको ब्यानर प्रदर्शन गरेका छन् ।
सरकारले छलफलका लागि औपचारिक पत्राचार गरेपछि महासंघले सडक धर्नाका कार्यक्रम तत्कालका लागि स्थगित गरी सांकेतिक विरोध प्रदर्शन शुरु गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । सरकारी वार्ता टोलीसँगको छलफल अवधिभर आजको सांकेतिक विरोध प्रदर्शनीलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।
यसैबीच सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा गठित कार्यदलसँग महासंघका मागहरूका विषयमा छलफल गर्न महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलका सदस्यहरूमा महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल र कार्य समिति सदस्य ई.उत्तम भट्ट रहनु भएको छ ।
महासंघघले आफ्नो आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्ने प्रमुख दलका नेताहरू, निजी क्षेत्रका सबै प्रतिनिधिमूलक संघ संस्थाहरू सहित आन्दोलनको समाचारलाई प्राथमिकताका साथ स्थान दिने सबै सञ्चार माध्यमहरूलाई विज्ञप्ति मार्फत् धन्यवाद दिएको छ ।
अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका ९ बुँदे माग राखी महासंघ साउन १४ गतेदेखि आन्दोलनरत छ ।












