चार जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
काठमाडौं । एकै पटक चार वटा जलविद्युत परियोजनाको लागि ३६ अर्ब रुपैयाँ बढी लगानी स्वीकृत भएको छ। लगानी बोर्डले चार वटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।
भदौ ८ गते शुक्रवार बोर्डले चरा वटा जनाएको ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले बताए । उनका अनुसार रोल्वालिङ्ग खोला (२२ मेगावाट), छुजुङ्ग खोला (६३ मेगावाट), दाना खोला (४९.९५ मेगावाट) र सानीभेरी जलविद्युत् परियोजना (४४.५२ मेगावाट) का लागि सो बराबरको लगानी स्वीकृत भएको हो ।
लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय भएको बताइएको छ ।
त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ। साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ।
यस्तै, बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट फर्टीलाइजर फ्याक्ट्री स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रेनिकोला एसडीए. बीएचडी सँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।













