महिला स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक
काठमाडौं । प्राडा सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ वी रिडले बजारमा ल्याएको छ ।
इन्टरनेट, विकिपेडियाबाट स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी पाउन सकिए पनि अंग्रेजी र जटिल मेडिकल शब्दावलीका कारण बुझाइमा समस्या हुन सक्ने भएकाले आम नेपालीले बुझ्ने गरी नेपाली भाषामा पुस्तक ल्याइएको प्रकाशन संस्थाले जनाएको छ । पुस्तकमा महिला स्वास्थ्यमा आइपर्ने विभिन्न समस्याको सरल तरिकाले व्याख्या गरिएको छ। महिला स्वास्थ्यका कतिपय कुरा, जुन अरुलाई सोध्न र बुझ्न असजिलो हुन्छ, त्यस्ता समस्यालाई पुस्तकले सहज बनाइदिएको छ ।
बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्ति लगायत महत्वपूर्ण विषयलाई पुस्तकले समेटेको छ। पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रियाअघिरपछिको हेरचाहका बारेमा समेत पुस्तकले जानकारी दिन्छ। प्रसूति अर्थात् गर्भवतीसम्बनधी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात् महिला स्वास्थ्यमा भने छँदै छैन भने पनि हुन्छ। महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो भएकाले प्रत्येक घरमा संग्रह गरेर राख्न उपयुक्त छ।
साधारण जानकारीको अभावमा महिलाहरुले कष्ट बेहोर्नुपरेको अनुभवका आधारमा उनीहरुको समस्यामा केन्द्रित रही पुस्तक तयार गरेको लेखक ताम्राकारले उल्लेख गरेका छन् । प्राडा सुमनराज ताम्राकार धुलिखेल अस्पतालमा सन् २००२ देखि कार्यरत हून । सन् २००७ देखि उनी कन्सल्टेन्ट गाइनेकोलोजिस्टका रुपमा काम गरिरहेका छन् र उनको विशेष रुचीले ल्याप्रोस्कोपी र निःसन्तान रुचीको क्षेत्रमा छ।
उनले स्वस्थ महिला सहित करिब डेढ दर्जन स्वास्थ्य, संस्कृति एवं साहित्यका पुस्तकहरू लेखेका छन् जसले महिलाहरूको स्वास्थ्य परिस्थितिमा उनको महत्त्वपूर्ण योगदान प्रदान गरेका छन्। हालमा, उनी नेसोगको सह–कोषाध्यक्षका पदमा छन्।













