दशैँपछि पहिलो पटक खुलेको सेयर बजारमा भारी गिरावट, यस कारण बन्यो सेयर किन्ने मौका
काठमाडौं । हाम्रो घरेलु अर्थतन्त्रलाई सबैभन्दा धेरै चलाएमान बनाउने पर्व भनेर चिनिएको दशैँ लगत्तै स्वदेशी सेयर बजार सूचक नेप्सेमा भारी गिरावट देखिएको छ । दशैँपछि पहिलो पल्ट आइतबार खुलेको बजार ३३ आधारविन्दुमात्रै बढेर घट्द थालेको थियो ।
तर बजार बन्द हुनुभन्दा १६ मिनेटअघि नेप्से ३६.३४ अंक घटेर १८६७.५१ अंकसम्म झर्यो । भलै अन्तिम समयमा बजार केही सुधारिए पनि कारोबार बन्द हुँदासम्म सूचकांक २८.१८ अंक (१.४८ प्रतिशत) घटेर १८७५.६५ अंकमा रोकिएको छ ।
१० दिन अघि १९०४ अंकमा बन्द भएको नेप्से गत असोज २९ मा झण्डै ५ मिहनाको सबैभन्दा न्यून बिन्दु १८४६.७९ अंकसम्म झरेको थियो । यसरी पछिल्लो एक वर्षमा नेप्से पटक पटक १८५० अंकको मनोवैज्ञानिक स्तरभन्दा तल झरेको छ । तर १८०० अंकको स्तर तोडेर ओर्लिन सकेको छैन ।
हरेक दिनको अन्तिम विन्दुलाई मापन गर्दा पछिल्लो एक वर्षमा नेप्से १८१८ देखि २२२७ अंकको बीचमा देखिएको छ । तर दशैँ अघिको तुलनामा दशैँपछि सेयरको कारोबार रकम पनि घटेको छ । दशैँको माहोलबाट लागानीकर्ताहरु पूर्ण रुपमा बाहिर निस्कन नसकिरहेका कारण पनि यस्तो प्रतिक्रिया प्राप्त भएको हुनसक्छ ।
आइतबार नेप्सेमा ७४ करोड २९ लाख रुपैयाँको कारोबार भयो । यस दिन अपर सोलु हाइड्रोपावर लगायत २७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । सोनापुर मिनरल्स लगायत २०१ कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ ।
आइतरबार नेप्सेको बजार पुँजीकरण २८ खर्ब ८९ अर्ब हाराहारीमा झरेको छ । यो गत आर्थिक वर्ष (साउनदेखि असारसम्म)को कुल गर्हस्थ्य उत्पादन (जीडीपी)को ५३.६९ प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब ३३ करोड ५० लाख रहेको उल्लेख गरेको छ ।
कुनै बेला राष्ट्रिय अर्थतन्त्रभन्दा ठूलो आकार धारण गरेको सेयर बजार अहिले त्यसको झण्डै आधा आकारमा खुम्चिएको छ । यसले हालका लागि दीर्घकालिन लगानीकर्तालाई बजार प्रवेश गर्ने उत्कृष्ट विन्दुको रुपमा देखिएको छ ।













