नेपाल वेयरहाउजिङ्गको आइपीओमा पहिलो दिन मै माग भन्दा ३.०५ गुणा बढी आवेदन
काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपीओमा पहिलो दि मै ३४ करोढ ८५ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १० गते साँझ ५ः०८ बजेसम्म ३ लाख १७ हजार ४८६ जनाले ३४ लाख ८५ हजार ६७० कित्ता लागि आवेदन दिएको हो । जुन माग भन्दा ३.०५ गुणा बढी आवेदन हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट पछि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।
अब बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि ल्याएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आइपीओमा छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।













