नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँट, ८४ हजारको आवेदन रद्द, कतिले पाए सेयर ?

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ आज बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बाँडफाँट गरेको हो ।
आइपीओमा १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । जसमा ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा १ लाख १४ हजार १२५ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट पछि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।
बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि ल्याएको थियो ।