नियामकको लचिलो नीति र ब्याजदरमा घट्दो ट्रेन्ड: बढ्दै सेयर धितो कर्जा, लगानीकर्ता उत्साहित भएका हुन् ?

काठमाडौँ । सेयर कर्जामा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । नियामक निकाय नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत सेयर धितो कर्जासम्बन्धी लिएको लचिलो नीतिका कारण पछिल्लो समय यस्तो कर्जा बढ्न थालेको हो ।
चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाले ८१ अर्ब १९ करोड रुपैयाँ बढी सेयर धितो कर्जा प्रदान गरेका छन् । यो गत असार मसान्तसम्मको तुलनामा भने ६.४ प्रतिशत अर्थात् ४ अर्ब ८८ करोड रुपैयाँले बढी हो । गत असार मसान्तसम्ममा भने बैङ्क तथा वित्तीय संस्थाहरूले यस्तो कर्जा ७६ अर्ब ३० लाख ८ हजार रुपैयाँ प्रवाह गरेका थिए । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार औसतमा मासिक १ अर्ब रुपैयाँ कर्जा सेयर बजारमा गएको देखिन्छ । गत साउनदेखि नै सेयर बजारमा जाने कर्जाले गति लिन थालेको राष्ट्र बैङ्कको आँकडा छ ।
चालु आवको पहिलो महिना अर्थात् गत साउनमा सेयर धितो कर्जामा बैङ्क तथा वित्तीय संस्थाहरूले कुल ७६ अर्ब ४१ करोड ३० लाख रुपैयाँ लगानी गरेका थिए । यस्तै, भदौमा यस्तो कर्जा ७७ करोड ६८ करोड ८ लाख, असोजमा ८१ अर्ब १ करोड ७० लाख र कात्तिकमा ८१ अर्ब १६ करोड बढी रुपैयाँ प्रवाह भएको थियो ।
यति बेला लगानीकर्ताहरू कर्जा लिएर बजारमा लगानी बढाउन थालेका हुन् । पछिल्लो समय बैङ्कहरूले पनि ब्याजदर घटाइरहेका छन् । केन्द्रीय बैङ्कको नीतिगत लचकता र घट्दो ब्याजदरले नै लगानीकर्ताहरू सेयर बजारमा लगानी बढाउन अग्रसर भएको बताइन्छ । बैङ्कहरूले पनि सेयर धितो कर्जाको माग बढ्न थालेको बताउँछन् ।
तथ्याङ्क अनुसार २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा धेरै बढेको देखिन्छ । समीक्षा अवधिमा ५० लाखसम्मको कर्जा ९.६ प्रतिशत वृद्धि भएको छ । गत असार मसान्तसम्ममा यस्तो कर्जा १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ थियो । तर, मङ्सिर मसान्तसम्ममा आइपुग्दा भने यस्तो कर्जा बढेर १४ अर्ब १ करोड रुपैयाँ बढी प्रवाह भएको देखिन्छ । विशेष गरी केन्द्रीय बैङ्कले मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको छ । त्यसले पनि कर्जा प्रवाह बढेको हो ।
यस्तै, १ करोड माथिको सेयर धितो कर्जा प्रवाह पनि ७ प्रतिशत वृद्धि भएको देखिन्छ । गत असारसम्ममा यस्तो कर्जा ४४ अर्ब ७१ करोड ६ लाख माथि थियो । तर, गत मङ्सिर मसान्तसम्ममा भने बढेर ४७ अर्ब ८४ करोड ५ लाख पुगेको छ ।
यता, २५ लाख भन्दा कम सेयर धितो कर्जा प्रवाह पनि ६.४ प्रतिशत बढेको राष्ट्र बैङ्कको आँकडा छ । मङ्सिर मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूले यस्तो कर्जामा ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । गत असार मसान्तसम्ममा भने यस्तो कर्जा ७ अर्ब ३ करोड मात्रै रहेको थियो ।
यस्तै, ५० लाखदेखि १ करोडसम्मको सेयर धितोमा भने ११ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेका छन् । यो गत असार मसान्तसम्मको तुलनामा भने ०.६ प्रतिशत मात्रै बढी हो । राष्ट्र बैङ्कले सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले संस्थागत लगानीकर्तालाई २० करोड र व्यक्तिगत लगानीकर्तालाई १५ करोड सीमा तोकेको छ । यस्तै, जोखिम भार पनि घटाएर १२५ प्रतिशतमा झारेको छ। यस्तो नीतिगत लचकताले पनि सेयर धितो कर्जामा बढोत्तरी देखिएको हो ।
सेयर बजारले पनि बिस्तारै गति लिन थालेको छ। पछिल्लो समय ब्याजदर घट्दो क्रममा छ, जसले लगानीकर्ताहरूले सेयर धितो राखेर कर्जा लिन उत्साहित नै छन् । यसले गर्दा पनि कर्जा वृद्धि भएको बताइन्छ ।